newa srijana

लामाचौर कप अन्तर मावि छात्रा भलिबल: टप्स र शान्ता मावि फाइनलमा प्रवेश

पोखरा । लामाचौरमा आयोजित ‘लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगिता’ मा पोखराका टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन्।

आइतबार पहिलो सेमिफाइनलमा टप्स माविले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको छ। पहिलो सेट २५–२० र दोस्रो सेट २६–२४ ले टप्सले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो।

दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको छ। पहिलो सेट २४–२६ मा गुमाएपनि शान्ताले दोस्रो र तेस्रो सेट समान २५–१९ को नतिजासँग जित्दै उत्कृष्ट पुनरागमन देखाएको छ।

टप्स माविले पहिलो चरणमा पश्चिमाञ्चल र दोस्रो चरणमा बालमन्दिरलाई हराउँदै विजयी यात्रा अघि बढाएको छ भने शान्ता माविले प्रतिभा र केफ माविलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

World link net

यसैबीच, पहिलो सेमिफाइनलमा टप्सले पास आउट खेलाडी खेलाएको आरोपसहित प्रोटेस्ट परे पनि नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले छानबिनमा त्यस्तो पाइएको नदेखिएको प्रष्ट पारेका छन्।

फाइनल खेल महोत्सवको अन्तिम दिन, भदौ १० गते आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका थिए। विजेताले १ लाख, उपविजेताले ५० हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन्। साथै, विधागत उत्कृष्ट खेलाडीलाई आकर्षण पुरस्कार प्रदान गरिनेछ।

यो प्रतियोगिता नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह र तीज अवसरमा आयोजना भएको हो। ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल खेल रहेको छ। भदौ ८ देखि १० गतेसम्म इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भलिबलसहित सांगीतिक एवं सांस्कृतिक कार्यक्रमहरु आयोजना हुँदैछन्।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए। खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता र अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता महोत्सवका थप आकर्षण हुन्।

सिटीजन फनिच्रर