सुचना१
newa srijana

गौरीशंकर क्याम्पसलाई खानेपानी ट्याङ्की हस्तान्तरण

पोखरा । पोखरा–२५ स्थित गौरीशंकर बहुमुखी क्याम्पसलाई शुद्ध खानेपानीका लागि नयाँ ट्याङ्की हस्तान्तरण गरिएको छ। लायन्स क्लब अफ पोखरा हेमजाको पहलमा, लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयोजन र द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण गरिएको ट्याङ्की शुक्रबार औपचारिक समारोहबीच हस्तान्तरण गरिएको हो।

समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे नेपालका प्रथम भाइस गभर्नर एमजेएफ लायन प्रजापति बाँस्तोलाले ट्याङ्की हस्तान्तरण गरेका थिए। उनले खानेपानी समस्या समाधानतर्फ लायन्स क्लबले देखाएको सक्रियतालाई प्रशंसा गर्दै “जहाँ समस्या हुन्छ, त्यहाँ लायन्स हुन्छ भन्ने प्रमाण यस्ता कार्यले दिएको छ” भन्दै योगदानको सराहना गरे।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले हेमजा क्षेत्रमा लायन्स क्लबले गरेको योगदानलाई उल्लेखनीय बताउँदै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा क्लब र जनप्रतिनिधिको उद्देश्य समान रहेको धारणा राखे।

खानेपानी ट्याङ्की निर्माण कार्यक्रमका निर्देशक तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम साङपोले यस अभियानको पृष्ठभूमि स्मरण गरे। उनका अनुसार करिब २२ वर्षअघि पोखराका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दा करिब ७० प्रतिशतमा पानीकै कारण समस्या देखिएको थियो। त्यसपछि विभिन्न दाताको सहयोगमा करिब तीन सय थान युरोगार्ड वितरण गरिए पनि तत्कालीन लोडसेडिङ र मर्मतको अभावमा दीर्घकालीन समाधान दिन नसकेपछि सन् २०१७ देखि स्थायी खानेपानी ट्याङ्की निर्माण अभियान थालिएको हो। यसअन्तर्गत शुक्रबार सम्पन्न हस्तान्तरण ५४औं ट्याङ्की हो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले संस्थागत सहयोगप्रति आभार प्रकट गर्दै लायन्स क्लबलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, गण्डकी एरिया चिफ महेश श्रेष्ठ, जोन ९ का जोन चियरपर्सन तिर्थ श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले गरेका थिए भने राष्ट्रिय झण्डा अभिवादन निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले गरे। कार्यक्रम सञ्चालन सचिव कृष्णमान श्रेष्ठले गरेका थिए।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की