सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा राष्ट्रिय घर निर्माण फेस्ट शुक्रबारदेखि

पोखरा । पोखरा–१० अमरसिंहचौरमा शुक्रबारदेखि राष्ट्रिय घर निर्माण फेस्ट सुरु हुँदैछ । नयाँ घर निर्माणका लागि आवश्यक सेवा तथा प्रविधि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्किल सेवाको आयोजनामा भदौ १३ र १४ गते फेस्ट हुने भएको हो ।

पहिलो पटक पोखरामा आयोजना हुन लागेको यो फेस्टमा घर तथा भवन निर्माणका मापदण्ड, अत्याधुनिक प्रविधि र आधुनिक सोचबारे जानकारी गराइनेछ । कार्यक्रममा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी तथा इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् । आयोजकले पाँच हजारभन्दा बढी सहभागी हुने अनुमान गरेका छन् ।

फेस्टले घर निर्माणका नवीनतम अवधारणालाई व्यवहारमा उतार्न योगदान गर्ने अपेक्षा लिइएको छ । सुरक्षित, भरपर्दो र दिगो घर बनाउनका लागि प्रयोग हुने इट्टा, सिमेन्ट, डन्डी, टायल्सदेखि लिएर ग्लाससम्मका सामाग्री कसरी खर्च कम गरेर उपयोग गर्ने भन्ने व्यावहारिक ज्ञान दिइनेछ । त्यस्तै, भित्री संरचनामा ध्यान नदिँदा घर कमजोर हुने भएकाले दक्ष जनशक्ति र प्रविधिको प्रयोगमार्फत टिकाउ निर्माण गर्ने सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ ।

फेस्टमा ३२ वटा स्टल रहने छन् । सहभागीले इन्टेरियरका सामग्री सुपथ मूल्यमा पाउनेछन् भने आवश्यकताअनुसार घर निर्माणसम्बन्धी सल्लाहसमेत लिन सक्नेछन् । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

वडा नं २६
Sadak 1
पुल सेन्टर