newa srijana

रूपन्देही–३ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा

पूर्व नाउपा समानुपातिक, १६ वर्षको चिकित्सकीय अनुभवसहित प्रत्यक्ष प्रतिस्पर्धी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

रास्वपाले आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइनमार्फत प्राइमरी इलेक्सन गरेको थियो। नौ जना आकांक्षीमध्ये सर्वाधिक मत ल्याएका थापालाई उम्मेदवार घोषणा गरिएको रास्वपाको दाबी छ।

डा. थापा पेशागत जीवनमा न्युरोलोजी क्षेत्रमा परिचित नाम हुन्। उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबिएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डिएम न्युरोलोजी अध्ययन गरेका छन्। साथै, उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फर्मेटिभ’ कार्यक्रमका स्नातकसमेत हुन्।

Mountain run pokhara click
सिटीजन फनिच्रर

१६ वर्षभन्दा बढी समय न्युरो साइन्सको उपचार र अनुसन्धानमा बिताएका थापाका ८० भन्दा बढी अनुसन्धानात्मक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत उनको टिमको पहलमा बनेको हो।

थापा राजनीतिमा नयाँ होइनन्। चार महिना अघिसम्म उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग आवद्ध थिए। २०७९ सालको प्रतिनिधिसभा चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ समानुपातिक बन्दसूचीमा उनको नाम पाँचौं प्राथमिकतामा थियो। तर पार्टी छोड्दै उनले बन्दसूचीबाट नाम हटाउन आग्रह गरेका थिए। नाउपाले निर्वाचन आयोगमार्फत साउन २१ गते मात्रै आधिकारिक रूपमा उनको नाम सूचीबाट हटाएको जानकारी गराएको थियो।

रास्वपाले उनलाई प्रत्यक्ष उम्मेदवार बनाएसँगै रूपन्देही–३ मा प्रतिस्पर्धा रोचक हुने देखिएको छ। निर्वाचन आयोगले कात्तिक १७ गते रूपन्देही–३ र मनाङमा उपनिर्वाचन हुने घोषणा गरिसकेको छ।

डा. थापा सिद्धार्थनगर–९ का स्थायी बासिन्दा हुन्। चिकित्सक, सामाजिक अभियन्ता र अनुसन्धानकर्मीको परिचय बोकेका उनले यसपालि राजनीतिमा नयाँ मोड लिँदै प्रत्यक्ष निर्वाचनमा आफूलाई परखाउने अवसर पाएका छन्।

Rabin photo