पोखरा । नेपालको पुरानो अग्रणी ट्राभल कम्पनीमध्ये एक युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले भुटान एयरलाइन्ससँग साझेदारीमा पारो (भुटान) र पोखरा (नेपाल) बीच सीधा चार्टर उडान सञ्चालन गर्ने भएको छ । यो ऐतिहासिक उडान सेवा आगामी १२ दिनका लागि सेप्टेम्बर २८ देखि अक्टोबर १४ सम्म सञ्चालन हुनेछ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार पहिलोपटक सुरु हुने यस सीधा उडानले नेपाल–भुटानबीचको सम्पर्कलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ । दुवै देशका ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ नजिक ल्याउने र पर्यटन आदानप्रदानलाई बढावा दिने लक्ष्य यो पहलको रहेको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक परासर प्रसाईले भने – ‘युनिभर्सल टुर्स एण्ड ट्राभल्सले सधैं यात्रामा नयाँ अनुभव दिने र विस्तार गर्ने प्रतिबद्धता बोकेको छ । भुटान एयरलाइन्ससँगको यो साझेदारीले पोखरा र पारोलाई मात्र जोड्दैन, यसले सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउन क्षेत्रीय सहकार्यको शक्ति पनि देखाउँछ ।’
त्यसैगरी कम्पनीका टुर म्यानेजर सुमन महर्जनले भने – ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने यो सेवा नेपालकै मात्र होइन सम्पूर्ण क्षेत्रीय पर्यटनलाई फाइदा पुग्नेछ । पारो र पोखरा दुवै गन्तव्य हिमालयन आकर्षणका लागि प्रसिद्ध भएकाले यात्रुहरूलाई नयाँ विकल्प मिल्नेछ । यसले नेपालको पर्यटन दृष्टिकोणलाई थप बल दिनेछ ।’
चार्टर उडान सेवा नेपाल नागरिक उड्डयन प्राधिकरण (सिएएएन), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र हस्पिटालिटी एशोसिएसन अफ नेपालको सहकार्य र समन्वयमा सुरु गरिएको हो । यसले उड्डयन र पर्यटन क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने जनाइएको छ ।
अन्नपूर्ण हिमशृंखलाको प्रवेशद्वारका रूपमा परिचित पोखरा अहिले सीधै पारोसँग जोडिने भएको छ । पारो धार्मिक स्थल, ड्जोंग र हिमालयका अद्भुत दृश्यका लागि प्रसिद्ध मानिन्छ । यस चार्टर उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन र क्षेत्रीय सम्पर्क केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल्स सन् १९७८ मा नेपालकै १३औँ इजाजतप्राप्त ट्राभल एजेन्सीका रूपमा स्थापना भएको हो । कम्पनीले निरन्तर नयाँ सेवा र नवप्रयोग गर्दै आएको छ । प्रसाईका अनुसार भुटान एयरलाइन्ससँगको यो सहकार्यले नेपाललाई भविष्यमा क्षेत्रीय पर्यटनको केन्द्र बनाउन योगदान गर्नेछ ।
यस उडानमा पारोबाट पोखरा हुँदै पारोमै फर्किने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यो सेवा छोटो अवधिको भए पनि भविष्यमा यसको सम्भावना ठूलो रहेको छ ।
