पोखरा । युनिट्राभ गण्डकी प्रदेश र पोखरास्थित दृष्टि आँखा अस्पतालबीच बुधबार स्वास्थ्य सेवा सम्बन्धी विशेष सम्झौता भएको छ । सम्झौता अनुसार युनिट्राभका सदस्यहरूले अब अस्पतालका विभिन्न उपचार सेवामा विशेष छुट सुविधा पाउने भएका छन्।
सम्झौता कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्री, युनिट्राभ गण्डकी प्रदेश कमिटीका अध्यक्ष शालिकराम तिमिल्सिना र सचिव रामकृष्ण तिमिल्सिनाबीच हस्ताक्षर भएको हो । सम्झौता दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
सम्झौताअनुसार सदस्यहरूले ओपीडी सेवामा १५ प्रतिशत, प्रयोगशाला सेवामा २५ प्रतिशत, चश्मा तथा चश्मासँग सम्बन्धित सामग्रीमा ३० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यी छुटहरूले सदस्यहरूलाई उपचार खर्चमा प्रत्यक्ष आर्थिक राहत दिलाउने अपेक्षा गरिएको छ।
सुविधा उपभोग गर्नका लागि सदस्यहरूले अस्पतालमा उपचार लिन जाँदा आफ्नो सदस्यता कार्ड देखाउनुपर्ने प्रावधान गरिएको छ । यसले छुट सेवाको दुरुपयोग रोक्ने र व्यवस्था पारदर्शी राख्ने उद्देश्य लिएको बताइएको छ।
युनिट्राभ गण्डकी प्रदेशका अध्यक्ष शालिकराम तिमिल्सिनाले सम्झौताले सदस्यहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र आँखा उपचारलाई अझ सुलभ र सहज बनाउने विश्वास व्यक्त गरेका छन्।
