पोखरा । हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कोशेढुंगा’ ले दर्शकको उत्साहजनक प्रतिक्रिया बटुल्दै देशभर सकारात्मक चर्चा कमाइरहेको छ। निर्देशक सरोज पौडेल निर्देशित चलचित्रले विशेषगरी पोखराको मिडटाउन हलमा उल्लेखनीय सफलता पाएको छ।
चलचित्रको प्रचारप्रसारक्रममा कलाकारहरू सुरक्षा पन्त, आर्यन सिग्देल र नीति शाह पोखरा पुगेका थिए। मिडटाउन हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूले पोखरेली दर्शकको मायाले आफूहरू गदगद भएको बताए।
सुरक्षा पन्तले वैवाहिक जीवनपछिको पहिलो चलचित्रमा यति राम्रो प्रतिक्रिया पाउँदा आफू भावुक भएको बताइन्।
“‘कोशेढुंगा’ मेरो लागि विशेष चलचित्र हो। दर्शकको प्रतिक्रिया हेर्दा लाग्यो, हामीले सही बाटो समातेका छौँ,” – सुरक्षा पन्त।
आर्यन सिग्देलले फिल्मको विषयवस्तुमा दर्शकको रुचि देखेर आशावादी हुँदै भने, “यस्तो गम्भीर विषयमा बनेको चलचित्र हेरेर दर्शकले जुन साथ दिएका छन्, त्यो हाम्रो लागि ठूलो कुरा हो।”
चलचित्रका कलाकार मञ्जिल कुमार ले पनि दर्शकबाट अत्यन्तै राम्रो प्रतिक्रिया आइरहेको बताउँदै,
“जति दर्शकले चलचित्र हेर्नुभएको छ, सबैले चलचित्रले मन छोएको बताउनुभयो ।
‘कोशेढुंगा’ले नेपाली समाजमा चर्चित ब्लड मनीको विषयवस्तु उठाउँदै घरघरको कथा बोलेको दर्शकले प्रतिक्रिया दिएका छन्। कथावस्तु, समसामयिक विषय र प्रस्तुत शैलीले दर्शकको मन छोएको देखिन्छ।
नरदेवी फिल्म्सको निर्माणमा बनेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, सरोज खनाल, विशाल पहाडी लगायतको सशक्त अभिनय देख्न पाइन्छ।
चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। छायांकन बाबु श्रेष्ठ र सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।
नेपाली समाजको यथार्थ बोल्ने यो चलचित्र दर्शकमाझ गहिरो सन्देश दिन सफल भएको प्रतिक्रिया आइरहेको छ।
