सुचना१
हेमाजा हिले महोत्सव

सामुदायिक प्रहरी सेवा वगरको २२औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले शनिबार आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले सामुदायिक केन्द्रले न्यून खर्चमा प्रभावकारी काम गर्दै आएको उल्लेख गरे । उनले समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सामुदायिक केन्द्रको भूमिका अतुलनीय रहेको भन्दै प्रहरी–नागरिक साझेदारीलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

लागूऔषध दुरुपयोग पछिल्ला वर्षहरूमा न्यून हुँदै गएको उल्लेख गर्दै उनले सचेतनामूलक कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष सिता अधिकारीले गाउँपालिकामा आत्महत्यासहितका घटनाहरू बढ्दै गएको तथ्य प्रस्तुत गर्दै ती घटनाको न्यूनिकरणका लागि सामुदायिक सेवा केन्द्रसँग सहकार्य गरेर अगाडि बढिरहेको जानकारी दिइन् । पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले वगर सामुदायिक सेवा केन्द्रको गतिविधि अनुकरणीय रहेको टिप्पणी गरे ।

सोही अवसरमा संस्थापक अध्यक्ष सिता गुरुङले लागुऔषध नियन्त्रण अभियानलाई अझ सक्रिय बनाउनुपर्ने धारणा राखिन् भने जिल्ला समन्वय समिति कास्कीका महासचिव घनश्याम तिम्सिनाले विकृति–विसंगति हटाउन सामुदायिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले पछिल्लो समय दरबन्दी घटाइएकाले काम गर्न असहज भएको गुनासो व्यक्त गरे ।

कार्यक्रममा ज्येष्ठ सदस्य तथा सल्लाहकार विश्वमोहन गौचन र जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रहरी निरीक्षक सरला ढकाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने संस्थाका सदस्यका छोराछोरी—शुष्मा भण्डारी, सुशांक अधिकारी र प्रविना सापकोटालाई नगदसहित सम्मान गरिएको थियो । जीवनभरि सदस्य बनेका बाबुराम भण्डारीलाई पनि विशेष सम्मान गरिएको थियो ।

हालै निर्वाचित सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका पदाधिकारी तथा सदस्यलाई स्वागतसहित बधाई प्रदान गरिएको थियो । कार्यक्रममा सचिव कृष्णबहादुर तामाङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोककी अध्यक्ष कुमारी मुना बास्तोला, नदिपुर कन्या क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सिद्धार्थ आमा समूहकी अध्यक्ष रिता लामिछानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य तत्कालीन अध्यक्ष रामभूषण पराजुलीले प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव कृष्णबहादुर तामाङले गरेका थिए ।

वडा नं २६
Sadak 1
पुल सेन्टर