सुचना१
हेमाजा हिले महोत्सव

फोटोग्राफर संघ गण्डकीको सातौं स्थापना दिवसमा फोटोग्राफी प्रतियोगिताको नतिजा घोषणा

पोखरा । गण्डकी प्रदेशका फोटोग्राफरहरूको अभिभावक संस्था मानिने फोटोग्राफर संघ गण्डकीले आफ्नो सातौं स्थापना दिवस भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा ‘मिराज राष्ट्रिय बैवाहिक तथा नेचर एण्ड ल्याण्डस्केप फोटो प्रतियोगिता–२०८२’ का नतिजा सार्वजनिक गर्दै विजेताहरूलाई सम्मान गरिएको छ ।

संघले १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा प्रतियोगिता सुरु गरेको थियो । यसमा सामाजिक सञ्जालमार्फत प्राप्त तस्वीरसहित करिब १५ सय तस्बिर प्रतिस्पर्धामा परेका थिए । निर्णायक मण्डलको छनोटपछि उत्कृष्टलाई नगद, ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

यस वर्षको बेष्ट बैवाहिक फोटो अवार्ड पोखराका युवा फोटोग्राफर देवानन्द पोखरेलले जिते । उनले नगद रु १५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । अन्य विधामा नन्दु श्रेष्ठ, मोहन महतो, नारायण पौडेल, प्रेम बहादुर अर्याललगायतले उत्कृष्टताको पहिचान बोक्ने अवार्ड प्राप्त गरे ।

त्यस्तै, नेचर एण्ड ल्याण्डस्केप विधातर्फ काठमाडौंका फोटोग्राफर नन्दु श्रेष्ठले ‘बेष्ट फोटोग्राफर अवार्ड’ हात पारे । उनले नगद रु १० हजार १, ट्रफी र प्रमाणपत्र पाए । अन्य उत्कृष्ट दसमा सजिनमणि पौडेल, लक्ष्मीपति पौडेल, सुवास पौडेल, कृतन पोखरेल, रमेश श्रेष्ठ, बव शाही, सफल पौडेल, समिर रेग्मी लगायतले स्थान बनाए ।

प्रतियोगितामा विभिन्न जातजातिका धार्मिक र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राखेर तस्वीरहरूको मूल्यांकन गरिएको थियो । प्रतियोगिता निरन्तरताका लागि मिराज फोटोका सञ्चालक भक्तबहादुर तामाङ र बृहत तामाङले तीन लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सोही कोषबाट आउने ब्याजबाट हरेक वर्ष विजेताहरूलाई पुरस्कार प्रदान गरिँदै आएको संघले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले फोटोग्राफी क्षेत्रका चुनौती र सम्भावनाबारे विचार राख्दै संघलाई देशभरका फोटोग्राफरहरूको प्रेरणाको श्रोतका रूपमा चित्रित गरे । उनले यस्ता प्रतियोगिताले व्यवसायी फोटोग्राफरलाई उत्साहित बनाउने भन्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदीले अक्षयकोषमार्फत संघलाई संस्थागत बनाउन सहयोग गर्ने हातहरू प्रति आभार प्रकट गरे । निर्णायक मण्डलका संयोजक दुर्गा प्रसाद पौडेलले मूल्यांकन प्रक्रिया प्रस्तुत गरे भने संयोजक जीवन ढुंगानाले सहभागी संख्या र तस्बिरको विवरण सार्वजनिक गरे ।
स्थापना दिवसकै अवसरमा म्याग्दी र गोर्खा जिल्लामा नवगठित फोटोग्राफर संघका पदाधिकारीलाई बधाई तथा सम्मान गरियो । साथै, भारतको पटनामा हुन गइरहेको बिहार एक्स्पोको ब्यानर पनि सार्वजनिक गरियो ।

कार्यक्रम संघका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो । सञ्चालन महासचिव प्रेम प्रसाद पराजुलीले गरेका थिए ।

वडा नं २६
Sadak 1
पुल सेन्टर