सुचना१
हेमाजा हिले महोत्सव

क्षत्री समाजद्वारा आन्दोलनका दोषीलाई कडा कारबाहीको माग

श्रद्धाञ्जली, निष्पक्ष अनुसन्धान र क्षत्री दिवस परिस्थिति अनुसार मनाउन आग्रह

पोखरा । क्षत्री समाज नेपालले हालैका प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

भदौ २३ र २४ गते संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा भएको जेन–जीको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति समाजले श्रद्धाञ्जली अर्पण गरेको छ। जारी शोक विज्ञप्तीमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

समाजले घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धानमार्फत सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ। साथै, भविष्यमा नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न उच्च सुरक्षा व्यवस्था मिलाउन पनि जोड दिएको छ। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति, कार्यालय र व्यवसायमा भएको क्षतिको निन्दा गर्दै समाजले त्यसमा संलग्नहरुमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताएको छ।

शोक विज्ञप्तीमा नयाँ बनेको सरकारले दीर्घकालीन शान्ति, स्थायित्व, विकास र पुनर्निर्माणमा ध्यान दिनुपर्ने उल्लेख छ। राष्ट्रिय अखण्डता र जातीय सद्भावलाई बलियो बनाउनुपर्ने आवश्यकता समाजले औंल्याएको छ।

राष्ट्रिय अखण्डता र जातीय सद्भावलाई मूल मन्त्र मानेर २०५२ सालमा स्थापना भएको क्षत्री समाज नेपाल विभिन्न सामाजिक रचनात्मक कार्यमा सक्रिय रहँदै आएको छ। अध्यक्ष रिब बहादुर थापा र महासचिव कृष्ण बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाजले विगतदेखि नै राष्ट्रिय एकता, सिमासुरक्षा र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै आएको पुनः स्मरण गरिएको छ।

समाजले हरेक वर्ष घटस्थापनाको दिनलाई क्षत्री दिवसका रूपमा मनाउँदै आएकोमा यस वर्षको विशेष राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै जिल्लागत रुपमा परिस्थिति हेरेर मात्र कार्यक्रम गर्ने निर्णय लिन आग्रह गरेको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर