पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका सरकारी कार्यालयहरूको स्थलगत अवलोकन गर्दै पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
मुख्यमन्त्री पाण्डेले नागरिकलाई सकेसम्म सहयोग गर्दै नष्ट भएका संरचनाको पुनःस्थापना र सेवामा अवरोध नहुने व्यवस्था गर्न प्रदेश सरकार सक्रिय भइसकेको बताएका छन्। उनका अनुसार प्राथमिकताका आधारमा काम सुरु गरिने र सेवा प्रवाहलाई सहज बनाउन प्रदेश मातहतका कार्यालय परिचालित भइसकेका छन्।
आन्दोलनलाई हिंसात्मक ढंगले भड्काउनेहरूलाई कानुनी दायरामा ल्याइनुपर्ने स्पष्ट पार्दै उनले युवाहरूले उठाएका जायज मुद्दा र मागलाई सरकारका सबै तहले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। प्रदेशस्तरका भौतिक संरचना पुनर्निर्माणबारे संघीय सरकारको नीति र बजेटका आधारमा थप योजना अघि बढाइने उनको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय र मुख्यमन्त्री निवासलगायत स्थलको निरीक्षण गरेका छन्।
