सुचना१
newa srijana

दुबईको सडकमा रात बिताइरहेका स्थानीयवासी वडाध्यक्ष थापाको पहलमा उद्धार

पाँच महिनादेखि बेरोजगार र अवैध बसाइँमा रहेका अमृत रानाभाटलाई वडाध्यक्ष थापाले उद्धार गरी परिवारसँग पुनर्मिलन गराएका छन्।

पोखरा। पाँच महिनासम्म दुबईका सडकमा रात काट्दै भोकभोकै बाँच्न बाध्य बनेका पोखरा–२६ का अमृत रानाभाट अन्ततः आफ्ना परिवारको काखमा फर्केका छन्। उनको उद्धारमा वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’को सक्रिय पहल र मानवीय संवेदनशीलता निर्णायक बनेको छ।

अमृत दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए। कम्पनीले तोकिएको तलब नदिँदा काम परिवर्तन गर्न बाध्य भए र भिसा म्याद सकिएपछि अलपत्र परे। सम्पर्कको साधन नहुँदा र अवैध बसाइँको जरिवाना तिर्न नसक्दा उनी पाँच महिनासम्म सडकमा रात बिताउन बाध्य थिए।

उनको पीडादायक अवस्था सामाजिक सञ्जालमा देखिने भिडियोमार्फत भाइरल भएपछि वडाध्यक्ष थापाले व्यक्तिगत पहल सुरु गरे। साथीहरूको सहयोगमा खोजी गर्दा अमृत सोनापुरमा भेटिए।

थापाले कानुनी प्रक्रिया पूरा गर्दै अमृतलाई दुबईबाट काठमाडौं हुँदै पोखरा ल्याए। घर फर्किंदा आमाको आँखामा उमंगका आँसु टल्किए, दाजुभाइहरू खुशीमा भिजे। अमृतको उद्धार र घरमा पुनर्मिलनको क्षण वडाध्यक्षका लागि पनि अत्यन्त भावुक रह्यो।

वडाध्यक्ष थापाले भने, जनताको पीडा देख्दा नदेखेझैँ बस्न सकिनँ। सडकमा रात बिताइरहेका वडाबासीलाई सुरक्षित घर पुर्‍याउन पाउनु मेरो लागि ठूलो सन्तोष हो। गाउँले, वडावासीसँगै बसेर जीवन चलाउन सकून् भन्ने मेरो चाहना हो। दुबईदेखि उद्धार गरी परिवारमा पुनर्मिलन गराउन पाउँदा मन आनन्दित भएको छ। यो क्षण शब्दमा व्यक्त गर्न गाह्रो छ। यसरी उद्धार गरेर घरसम्म ल्याउँदा साँच्चिकै जनताको प्रतिनिधि भएर कर्तव्य पूरा गरेको अनुभूति भयो।

थापाले अमृतलाई अनुशासित भएर काम गर्न आग्रह गरेका छन् भने आफूले पनि सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। अमृतको जरिवाना तिर्नदेखि नेपाल ल्याएर परिवारलाई बुझाउनेसम्मको सम्पूर्ण खर्च व्यवस्थापन वडाध्यक्ष थापाले नै गरेका हुन्।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की