पोखरा । इजरायलले गाजा सहरमा स्थल र हवाई आक्रमण तीव्र पारिरहेका बेला सशस्त्र समूह हमासले शनिबार ४८ इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ अनलाइन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तस्बिरमा नेपालका विपिन जोशीको पनि फोटो देखिएको छ।
हमासले सार्वजनिक गरेको प्रत्येक तस्बिरको क्याप्सनमा ‘Ron Arad’ लेखिएको छ। यो नाम सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदसँग जोडिएको छ। गाजामा भइरहेको आक्रमण र नेतन्याहुले सम्झौता अस्वीकार गरेको प्रसंगलाई उल्लेख गर्दै उक्त फोटोहरू ‘बिदाइ तस्बिर’ भनेर प्रसारण गरिएको बताइएको छ।
गाजा सहरलाई कब्जामा लिने घोषणा गरेसँगै इजरायली सेनाले स्थल र हवाई आक्रमणलाई अझै बढाएको छ। यसैबीच हमासले चेतावनी दिँदै आएको छ कि इजरायली कारबाही तीव्र बनेसँगै बन्धकहरूको जीवन जोखिममा परेको छ। केही बन्धकहरू इजरायली बम प्रहारमै मारिएको दाबी पनि गरिएको छ।
इजरायली अधिकारीहरूले करिब २० जना बन्धक अझै पनि गाजामा जीवित रहेको विश्वास दोहोर्याएका छन्। तर हमासले सार्वजनिक गरेका तस्बिरमध्ये को–को जीवित छन् वा को–कोको मृत्यु भएको हो भन्ने स्पष्ट भएको छैन। नेपालका विपिन जोशी अझै जीवितै रहेको आशा गरिएको छ।
यसअघि हमासले केही इजरायली बन्धकहरूको भिडियोसमेत सार्वजनिक गरेको थियो। कुपोषणको अवस्था देखिने ती दृश्यहरूले बन्धक परिवारसँगै इजरायलभित्रै सरकारप्रति आक्रोश बढाएको थियो। आक्रोशित नागरिकहरूले तेल अविभलगायत विभिन्न शहरमा सडक प्रदर्शन गर्दै युद्ध अन्त्य र बन्धकहरूको सुरक्षित फिर्तीको माग गरिरहेका छन्।
युद्ध सुरु भएको २०२३ अक्टोबरदेखि गाजामा मानवीय क्षति भयावह बनेको छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६५ हजारभन्दा बढीको ज्यान गएको छ भने एक लाख ६६ हजारभन्दा धेरै घाइते भएका छन्। मार्च १८ मा युद्धविराम भङ्ग भएयता मात्रै १२ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने सबै जीवित र मृत बन्धकहरूलाई फिर्ता ल्याउने र हमासलाई पूर्णरूपमा नष्ट गर्ने अडानमा कायम छन्।
