पोखरा । पोखरा महानगरपालिका–२६ मा अवस्थित सनराईज क्लवले शनिबार आयोजना गरेको आठौं खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन गरिएको छ।
सुन्दरी बजार टोल विकास संस्था र सृजना महिला समूहको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाएका थिए। पहिलो रक्तदाता कमला त्रिपाठी न्यौपानेलाई प्रतीक स्वरूप ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष नरेन्द्र थापाले क्लवले सामाजिक क्षेत्रमा देखाउँदै आएको अग्रसरता समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै आगामी दिनमा क्लवका सामाजिक उत्तरदायित्वका गतिविधिमा वडाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी क्लवका सल्लाहकार रविन्द्र मोहन अधिकारी र सृजना महिला समूहकी अध्यक्ष सृजना जिसीसहितका वक्ताले नियमित रक्तदानले समाजलाई मात्र नभई व्यक्तिको स्वास्थ्यलाई पनि लाभ पुर्याउने बताएका थिए। उनीहरूले स्वस्थ र निरोगी जीवनयापनका लागि तीन महिनाको अन्तरालमा रक्तदान गर्न सकिने सन्देश दिए।
कार्यक्रम क्लव अध्यक्ष सूर्यनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन सचिव विनोद कार्कीले गरेका थिए भने स्वागत मन्तव्य सुन्दरी बजार टोल विकास संस्थाका अध्यक्ष रमेशबहादुर जिसीले प्रस्तुत गरेका थिए।
