पोखरा । देशको वर्तमान परिस्थितिले पर्यटन उद्योग गम्भीर संकटमा परेको भन्दै पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई विशेष ध्यानाकर्षणपत्र बुझाएको छ।
परिषद्ले राजधानी शहर पोखरासहित सम्पूर्ण पर्यटन क्षेत्र सुनसान बनेको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले विदेशी पर्यटकहरूको भ्रमण प्याकेज र बुकिङहरू एकपछि अर्को गर्दै रद्द हुन थालेको जानकारी गराएको छ। भूकम्प र कोभिड–१९ महामारीको जस्तो कठिन परिस्थिती पार गर्दै पनि बाँचेको पर्यटन उद्योग अहिले फेरि ठप्पजस्तै अवस्थामा पुगेको परिषद्को भनाइ छ।
पर्यटन क्षेत्रमा करिब सात खर्बभन्दा बढी लगानी भइसकेको स्मरण गराउँदै परिषद्ले सबै तहका सरकारबाट विभिन्न पुनउत्थान प्याकेजहरू घोषणा भए पनि हाल बदलिँदो राजनीतिक परिस्थितिले पर्यटन व्यवसायीहरू थप सङ्कटमा परेको उल्लेख गरेको छ। आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका कारण पर्यटन व्यवसायीलाई परेको क्षतिको उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन परिषद्ले माग गरेको छ।
परिषद्ले खासगरी पर्यटन सिजनको सुरूवातमै भएको बुकिङ रद्द र आगामी फागुनमा हुने निर्वाचनले विदेशी पर्यटक आउने सम्भावना न्यून बनाएको उल्लेख गरेको छ। यसरी व्यवसाय ठप्प हुँदा बैंक ऋणको किस्ता तथा व्याज भुक्तानी असम्भव भएकाले आश्विन, पौष र चैत मसान्तसम्मको अवधि बिना जरिवाना थप्नुपर्ने परिषद्को आग्रह छ। साथै, कम्तीमा २५ वर्षको अवधिसहित ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गर्नुपर्ने, छोटो अवधिका लागि सञ्चालन खर्च (अपरेटिङ कस्ट) पुरा गर्ने अतिरिक्त कर्जा उपलब्ध गराउनुपर्ने, रिफाइनान्सिङ सुविधा खोलिनुपर्ने र साना तथा मझौला व्यवसायका लागि शून्य व्याजदरमा जीवनरक्षा कर्जा व्यवस्था गर्नुपर्ने माग पनि परिषद्ले राखेको छ।
यस्तै, पर्यटनलाई उद्योग सरहको मान्यता दिने घोषणालाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा परिषद्ले जोड दिएको छ। हालसम्म बजेटमा घोषणा भए पनि पर्यटन व्यवसायलाई अन्य उद्योग सरह सुविधा नदिइएको भन्दै परिषद्ले सरकारसँग चाँडै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।
परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले काठमाडौंमा गभर्नरलाई ध्यानाकर्षणपत्र बुझाएको थियो। टोलीमा पूर्वअध्यक्ष टिकराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, पूर्वअध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल सहभागी थिए।
परिषद्ले जारी आन्दोलनका क्रममा अवाञ्छित समूहका कारण सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ। “मुख्य सिजनकै थालनीमा भएको यस घटनाले पर्यटन पुनःजागरण असम्भवजस्तै बनाएको छ,” ध्यानाकर्षणपत्रमा भनिएको छ।
यसै क्रममा टोलीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन पुनउत्थानका उपायबारे छलफल गरेको परिषद्का अध्यक्ष पहारीले जानकारी दिएका छन्।
