सुचना१

बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३, ठूलोढुङ्गास्थित करिब दुई सय वर्ष पुरानो बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा आयोजना हुने भएको छ । विश्व शान्तिका साथै नेपाल शान्ति र विकासको मार्गमा अघि बढोस् भन्ने कामनासहित विशेष पूजा गर्न लागिएको मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

स्थानीय विश्वासअनुसार करिब दुई सय वर्षअघि लेकतर्फ जाँदै गरेकी गर्भवती महिलामाथि बाटैमा बाघले आक्रमण गर्दा गर्भबाट बालिका निस्किएकी थिइन् । बालिकालाई नागले बेरेर सुरक्षित गरेको र पछि अलप भए पनि दिव्यस्वरुपमा त्यहीँ देखापर्न थालेको किंवदन्ती प्रचलित छ । त्यसपछि त्यहाँ बालिकाको आवाज सुनिन थालेपछि धामीमार्फत घटनाबारे जानकारी लिइएको र त्यसको आधारमा सो स्थानमा मन्दिर स्थापना गरिएको विश्वास गरिन्छ ।

विसं २०२२ मा सानो पाखे मन्दिर बनेकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासमा नयाँ मन्दिर निर्माण गरिएको हो । अहिले मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुने व्यवस्था छ । दशैंका अवसरमा फूलपाती, महाअष्टमी, महानवमीका दिन विशेष पूजा गरिन्छ । विजयादशमीमा भने मन्दिरमा चढाइने फूल र प्रसाद आसपासका घरघरमा वितरण गर्ने परम्परा रहेको छ ।

अघिल्ला वर्षमा ज्येष्ठ पूर्णिमामा बलिप्रथा चलिआएको भए पनि स्थानीयको सामूहिक निर्णयअनुसार पछिल्ला तीन वर्षदेखि बलिदिने परम्परा अन्त्य गरिएको सचिव लामिछानेले बताउनुभयो । उहाँका अनुसार श्रद्धा र भाकलका साथ पूजा गर्न आउने दर्शनार्थीहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।

मन्दिर निर्माणका क्रममा स्व. लेखबहादुर गुरुङले जस्ता टिन र गारोमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । त्यसपछि दीननाथ आचार्य र हाल बसन्त आचार्यले पूजाआजामा निरन्तरता दिनुभएको छ । समाजसेवी मोतिप्रसाद आचार्यले मन्दिरका लागि जग्गा उपलब्ध गराउनुका साथै आगामी दिनमा अन्य पूर्वाधारका लागि थप जग्गा दिने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

दैवी शक्ति रहेको विश्वासले यहाँको धार्मिक आस्थामा विशेष प्रभाव पारिरहेको छ । पोखराको भरतपोखरी, ठूलोढुङ्गा मात्र नभई टाढाटाढाबाट पनि भक्तजन यहाँ आउने गरेका छन् । श्रद्धाभावपूर्वक पूजा गर्दा मनोकामना पूरा हुने विश्वासले मन्दिरको आकर्षण झनै बढिरहेको छ । बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोक नजिकै पर्ने यो मन्दिर कालोपत्रे सडकसहित सहज पहुँचमा भएकाले पछिल्ला वर्षमा यहाँको महिमा र श्रद्धालुहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको देखिन्छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर