सुचना१

विश्व कीर्तिमानी अल्ट्राम्याराथन धावक घिमिरे र समाजसेवी गुरुङ सम्मानित हुँदै

पोखरा प्रवद्र्धन केन्द्रले खेलकुद र समाजसेवा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई प्रोत्साहन गर्दै सम्मान प्रदान गर्ने

पोखरा । पोखरा प्रवद्र्धन केन्द्रको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक तनहुँका विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र पोखराका समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ ।

संस्थाले वार्षिक कार्ययोजना अन्तर्गत समाजसेवा, राष्ट्रसेवा र खेलकुदका माध्यमबाट उद्यमशीलता, नवप्रवर्तन एवम् पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एकजना खेलकुद र एकजना उद्यम तथा नवप्रर्वतन क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्दै आएको छ ।

यसअघि, उक्त सम्मानबाट अग्रज समाजसेवी तथा उद्यमी पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसान गुरुङ सम्मानित भइसकेका छन् ।

यसपटक सम्मानित हुने वसन्त घिमिरेको जन्म तनहुँको शुक्लागण्डकी–६ खैरनीटारमा २०२३ वैशाख ३ मा पिता बामदेव घिमिरे र रेवती घिमिरेको कोखबाट भएको हो । उनी सन् १९९५ मा पोखरामा सम्पन्न म्याराथनका स्वर्णपदक विजेता हुन् । सार्क स्थापनाको १० औँ वार्षिकोत्सव अवसरमा आयोजित सार्कराष्ट्रस्तरीय पोखरा जिरो किमीदेखि मुग्लिनसम्म (९० किमी) दूरीको अल्ट्राम्याराथनमा उनले ७ घण्टामै पूरा गरी कीर्तिमानी कायम सहित नेपाललाई स्वर्ण दिलाएका थिए । यस्तै, पोखराको हल्लनचोक–पुनहिल–हल्लनचोकको १ सय किमी दूरीको अल्ट्राम्याराथनमा समेत उनले ११ घण्टा ५९ मिनेट, ५९ सेकेण्डमा पार गरेका थिए ।

सन् १९९६ मा वेलायतमा भएको १ सय २८ किमीको अल्ट्राम्याराथनमा ४० औं स्थानमा आउन सफल घिमिरेले १३ घण्टा ३८ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी कीर्तिमानी कायम गरेका थिए । उनले विभिन्न युरोपियन राष्ट्रमा सम्पन्न म्याराथन र अल्ट्राम्याराथनमा दर्जनौँ पदक जितेर पृथक पहिचान कायम गरेका छन् । घिमिरे विश्वकीर्तिमानी धावक मात्र नभएर लोकदोहोरी गायन क्षेत्रका कुशल सर्जक तथा नायकसमेत हुन् । उनको दुलेगौँडा कटेसी खैरेनी लोकदोहोरी गीतिएल्बमसमेत बजारमा आएको छ । उनले विभिन्न लोक तथा आधुनिक गीतका म्यूजिक भिडियोमा अभिनयसमेत गरिसकेका छन् । उनी फिनल्याण्डस्थित लोकदोहोरी प्रतिष्ठान युरोप शाखा सल्लाहकारसमेत हुन् ।

यसैगरी, समाजसेवा क्षेत्रबाट सम्मानित हुने अशोक गुरुङ विश्व शान्ति स्तूप समितिका अध्यक्ष हुन् । पोखरा–२२, पुम्दीभुम्दी अनदुमा कृष्णबहादुर गुरुङ र आमा लक्ष्मीदेवीका कान्छो सन्तानका रूपमा २०२४ सालमा उनको जन्म भएको हो । उनी २०५० सालदेखि विश्व शान्तिस्तूपको श्रीवृद्धिमा क्रियाशील छन् । पुम्दीभुम्दीको पहिलो पर्यटकीय गन्तव्य विश्वशान्ति स्तूप समितिमा सचिवको नेतृत्वबाट अगाडि बढेका उनी उपाध्यक्ष हुँदै हाल अध्यक्षको भूमिकामा छन् ।

पोखरा लायन्स क्लब अफ हिमालयनका पूर्व अध्यक्षसमेत रहेका उनी फेवा होटल लेकसाइड, तालपारि पोखरा लिची गार्डेन रेस्टुरेन्ट, गोबन्जी नेपाललगायत व्यावसायिक प्रतिष्ठानका साझेदार छन् । साथै ह्वाइट बर्ड एग्रोफर्ममार्फत् नवप्रवद्र्धन, पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि उनीसहितको नेतृत्वमा रहेका विविध व्यवसायिक समूहले झण्डै ६० जनालाई प्रत्यक्ष रोजगारीका अवसरसमेत दिलाउँदै आएका छन् ।

विश्व पर्यटन दिवस अवसरमा यही असोज ११ गते दोस्रो पर्वतीय दौड प्रतियोगिताको समापन समारोहमा उनीहरुलाई सम्मान गरिने आयोजक पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । केन्द्र र पोखरा क्लिकको आयोजनामा दोश्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता विश्व पर्यटन दिवसको दिनमा असोज ११ गते शनिबार पोखरामा हुने भएको छ । खुल्ला सहित प्रतियोगितामा ६ इभेण्ट समेटिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।

वडा नं २६
Sadak 1
पुल सेन्टर