पोखरा । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट झरना नजिकै शनिबार दिउँसो पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
ताराखोलाबाट गलकोट नगरपालिका–५ सर्दाखेततर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप जीप गाईघाट झरना नजिकै दरमखोला भागमा सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले पुष्टि गरेको छ।
घाइते भएकामध्ये सर्दाखेतकै ४३ वर्षीय बिरवल परियारलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा मणिपाल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। त्यस्तै, २४ वर्षीय मिलन परियारको गलकोट नगर अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
