पोखरा । अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा सोमबार अष्ट्रेलियाली संस्था वाइल्डर्नेस कम्युनिटी र WIN (Wilderness in Nepal) को सहयोगमा २६ लाख रुपैयाँ मूल्यको अत्याधुनिक एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।यस एम्बुलेन्सले दुर्गम गाउँमा आपतकालीन स्वास्थ्य सेवा छिटो र प्रभावकारी रूपमा पुगोस् भन्ने उद्देश्य राखिएको छ।
श्री बहादुरे माध्यमिक बिधालय परिसरमा आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उक्त अवसरमा अष्ट्रेलियाली सहयोगी संस्था प्रति आभार व्यक्त गर्दै भने २६ लाख रुपैयाँ बराबरको यो एम्बुलेन्स हाम्रो गाउँको स्वास्थ्य पूर्वाधारमा ठूलो उपलब्धि हो। गाउँपालिकाले यसलाई स्वयं सञ्चालन गर्नेछ र यसको अन्य खर्च गाउँपालिकाले बेहोर्नेछ। विगत २० वर्षदेखि यी संस्था माध्यमिक विद्यालयहरूको सेवा सुविधामा निरन्तर समन्वय गर्दै आएका छन्। यसले गाउँका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ र आपसी मित्रता अझ मजबुत बनाउनेछ।
अध्यक्ष केसीले WIN र वाइल्डर्नेस कम्युनिटीसँग भविष्यमा सरसफाइ, फोहर व्यवस्थापन र स्वास्थ्य विस्तारका क्षेत्रमा, विशेषगरी एक्सरे मेसिनमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रम र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरिएको योगदानप्रति खुसी व्यक्त गर्दै, अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्र अधिकारी देवकोटाले भनिन्, यी पहलहरूले गाउँका बासिन्दाको जीवनस्तर सुधार्ने महत्वपूर्ण भूमिका खेलेका छन्। स्वास्थ्य सेवाको पहुँच सहज बनाउने, आपतकालीन उद्धारमा जीवनरक्षा सुनिश्चित गर्ने, र शिक्षा तथा सामाजिक कल्याणमा योगदान पुर्याउने पहलहरू सबैलाई तारिफ गर्दै यस्ता काममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।
कार्यक्रमको मुख्य आकर्षण बनेको एम्बुलेन्सले आपतकालीन स्वास्थ्य सेवा सहज र छरितो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। दुर्गम भेगका बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ हुने समयमा यो सुविधा ग्रामीण स्वास्थ्य सेवाको “जीवनरेखा” सावित हुने विश्वास स्थानीयवासीले व्यक्त गरे।
अतिथि तथा वाइल्डर्नेस कम्युनिटीकी प्रमुख डा. श्याली नब्सले भनिन् हामीले यो एम्बुलेन्स केवल सहयोगको रूपमा होइन मानवीय सम्बन्धको प्रतीकको रूपमा दिएका हौं। भदौरे र अन्नपूर्ण गाउँका जनतासँग हाम्रो आत्मीय सम्बन्ध गहिरो छ र यस सानो प्रयासले धेरै जीवन बचाउनेछ भन्ने हाम्रो विश्वास छ।
उनले जानकारी गराइन् कि वाइल्डर्नेस कम्युनिटी र WIN १९९८ देखि स्वास्थ्य र सरसफाइ क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्। २००५ मा महिला स्वास्थ्य र शिक्षामा जोड दिने विद्यालयहरूको सहयोग सुरु गरिएको थियो। संस्था बालबालिकाहरूको पढाइ–लेखाइमा पहुँच बढाउने र स्वास्थ्य सुधारमा सक्रिय रहँदै आएको छ र आगामी दिनमा पनि स्थानीय समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ थप कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।
वाइल्डर्नेस कम्युनिटी र WIN को सहयोगमा भदौरे माध्यमिक विद्यालयमा सयौँ विद्यार्थीले निःशुल्क माध्यमिक तहसम्म शिक्षा प्राप्त गर्दै आएका छन्। अभिभावकविहीन र विपन्न परिवारका बालिकाहरूका लागि विद्यालयमा आवास सुविधा उपलब्ध छ। हाल १२ जना छात्रा बोर्डिङ हाउसमा बसेर अध्ययनरत छन्।
गाउँका महिलाहरूका लागि सिलाइ तालिम सञ्चालन, वृद्ध महिलाहरूलाई आर्थिक सहयोग, र विद्यालय परिसरमै सामाजिक क्लिनिकमार्फत निःशुल्क उपचार सुविधा प्रदान गरिएको छ। साथै प्रत्येक वर्ष कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई १०० अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
स्थानीयहरूले स्वास्थ्य क्षेत्रमा गरेको योगदानप्रति आफ्नो सन्तोष व्यक्त गर्दै, अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष एन्जल गुरुङले भने यसरी स्वास्थ्य सेवा सहज बनाइएमा गाउँलेहरूलाई वास्तविक लाभ पुग्छ र जनताको सुरक्षाका लागि वडा स्तरबाट यस्ता गतिविधि गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुपर्छ।
यो एम्बुलेन्स हाम्रो गाउँको आशा र सहकार्यको प्रतीक भएको भन्दै विद्यालयका पूर्वप्रधानाध्यापक रामप्रसाद पौडेलले अष्ट्रेलियाली अतिथिहरू र सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे। उनले भने वाइल्डर्नेस कम्युनिटी र WIN को सहयोगले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा नयाँ ऊर्जा भरेको छ।
अम्बुलेन्सले गाउँकै ढोकासम्म स्वास्थ्य सुविधा पुर्याउने भएको छ। यसअघि बिरामीलाई अस्पताल पुर्याउन सवारी साधनको अभावले धेरै कठिनाइ भोग्नुपर्थ्यो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले भने अब यो गाडी होइन, जीवनरक्षाको साधन हो। गाउँपालिकाले यसलाई नियमित स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य परीक्षण र आपतकालीन उद्धारमा प्रयोग गर्ने योजना बनाएको छ।
श्री बहादुरे माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रिय गानसहित स्वागत नृत्य प्रस्तुत गरे। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, महिला समूह, स्थानीय बासिन्दा र अष्ट्रेलियाली अतिथिहरूको उपस्थिति रहेको थियो। समारोहको उद्घाटन श्री बहादुरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन गुरुङले स्वागत मन्तव्य दिएका थिए।
