सुचना१

राष्ट्रिय युवा संघद्वारा मालपोत सेवामा जनमैत्री योजना लागू गरी पारदर्शिता र सहजता सुनिश्चित गर्न जोड

पोखरा । कास्कीमा मालपोत सेवामा देखिएको अव्यवस्था र जनसहजताको कमी समाधान गर्न राष्ट्रिय युवा संघ नेपाल, कास्कीले घुम्ती सेवा सञ्चालन गर्न माग गरेको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सेवाग्राहीहरूलाई राहत दिलाउन मालपोत, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय गरी जनमैत्री योजना तत्काल लागू गर्न आग्रह गरेको हो।

गत भदौ २३ र २४ गतेको जेन्जी–जेड आन्दोलनका क्रममा मालपोत कार्यालय, कास्कीमा भएको आगजनी र तोडफोडका कारण कार्यालयको भौतिक संरचना, अभिलेख र सेवा प्रणालीमा गम्भीर क्षति पुगेपछि सेवा प्रवाह अवरुद्धजस्तै भएको छ। जसका कारण जग्गा–नामसारी, श्रेस्ता कायम, सिफारिस लगायतका अत्यावश्यक सेवाका लागि सेवाग्राहीहरू महिनौँदेखि समस्यामा परेका छन्।

संघका अध्यक्ष उमेश गुरुङका अनुसार मालपोत कार्यालयले असेाज २१ गते ‘स्थायी श्रेस्ता कायम गर्ने प्रक्रिया तथा आवश्यक कागजात’ सम्बन्धी सूचना जारी गरे पनि ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि सो व्यवस्था व्यवहारिक रूपमा असहज रहेको छ। उनले मालपोत सेवालाई जनसुलभ बनाउन प्रत्येक गाउँपालिका र नगरपालिकामा पुगेर घुम्ती सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

संघले स्थानीय तहकै प्रशासन शाखा वा सहायक मालपोत प्रतिनिधिमार्फत स्थायी श्रेस्ता कायम, नामसारी, सिफारिस र अभिलेख प्रमाणिकरणका कार्य सम्पन्न गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरेको छ। साथै, ग्रामीण क्षेत्रमा मोबाइल सेवा टोली गठन गरी तोकिएको तालिकाअनुसार स्थलमै सेवा दिने प्रणाली सुरु गर्न पनि माग गरिएको छ।

नागरिक सेवामा पारदर्शिता बढाउन सार्वजनिक सूचना डिजिटल प्लेटफर्म तथा स्थानीय तहको सूचना पाटीमार्फत पुनःप्रकाशन गर्नुपर्ने माग गरिएको छ। युवा संघका केन्द्रिय सदस्य एवं जित्ला इन्चार्ज शिवहरि सुवेदीका अनुसार, गण्डकी प्रदेश सरकार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच आपतकालीन जनसेवा कार्ययोजना तयार गरी तत्काल कार्यान्वयन गर्न पनि सुझाव दिइएको छ ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य एवं स्वास्थ्य प्रमुख सरस्वती पुरी, अन्य केन्द्रिय सदस्य र जिल्ला समितिका प्रतिनिधि उपस्थित थिए। कार्यक्रममा संघका जिल्ला इन्चार्ज शिवहरी सुवेदीले निमिक्त प्रमुख मालपोत अधिकृत शोभाखर पोख्रेललाई विज्ञप्ति पढेर हस्तान्तरण गरे।

संघले आगजनी र तोडफोडबाट क्षतिग्रस्त अभिलेखहरूको डिजिटल पुनर्संरचना प्रक्रिया सार्वजनिक गर्न र त्यसको प्रगति नियमित रूपमा जनतालाई जानकारी गराउन जोड दिएको छ। सेवाग्राहीहरूलाई अनावश्यक लाइन, ढिलाइ र प्रशासनिक झन्झटबाट मुक्त गर्न सरलीकृत योजना तत्काल लागू गर्न पनि संघको आग्रह छ।

राष्ट्रिय युवा संघ नेपाल, कास्कीले नागरिक सेवामा पारदर्शिता, सहजता र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ। संघद्वारा जारी संयुक्त विज्ञप्तिमा नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा प्राप्त हुने वातावरण तत्काल निर्माण गर्न सम्बद्ध निकायलाई आग्रह गरिएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर