newa srijana

पोखरामा मोडिफाई गरी मोटरसाइकल चलाउने चार जना पक्राउ

पोखरा । स्वरूप परिवर्तन (मोडिफाई) गरी सवारी चलाउने चार जना युवालाई पोखरा प्रहरीले पक्राउ गरेको छ। उनीहरूले मोटरसाइकलमा साइलेंसर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगोको झिल्का फ्याँक्ने र सार्वजनिक स्थलमा आतंक मच्चाउने कार्य गर्दै आएका थिए।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका मध्ये पोखरा–१० बुद्धचोकका २१ वर्षीय सुवास कार्की, पोखरा–३ का २५ वर्षीय एल्बिन पुन, पोखरा–६ का २६ वर्षीय सन्जिव दुवाडी र पोखरा–५ प्रस्याङका २९ वर्षीय अमृत चापागाईं रहेका छन्।

World link net

उनीहरूले चलाएका ग १२ प ९८३२, ग २४ प ४४६६, ग १४ प ८३९९ र ग ९ प ६०१३ नम्बरका मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतका अनुसार मोटरसाइकलमा अवैध रूपमा स्वरूप परिवर्तन गरी चलाउनेले सहरमा ध्वनि प्रदूषण मात्र नभई सर्वसाधारणमा त्रास समेत सिर्जना गर्ने गरेको गुनासो बढेपछि कारबाही अघि बढाइएको हो।

प्रहरीले त्यस्ता कार्य देखेमा नजिकको प्रहरी कार्यालयमा वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित गरिने पनि प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर