सुचना१

ओमानमाथि नेपालको प्रभावशाली जित, अपराजित यात्रा कायम

पोखरा । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–सिक्स चरणमा नेपालले घरेलु टोली ओमानमाथि ३८ रनको सहज जित हात पार्दै अपराजित यात्रा कायम राखेको छ। यस जितसँगै नेपाल उपाधिको नजिक पुगेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। इन्कार्जको भूमिका ओपनर कुशल भुर्तेलले निभाए, जसले संयमित ब्याटिङ गर्दै ५१ बलमा ६९ रन बनाए। आसिफ शेखले २४ रनको योगदान दिँदै पावरप्लेमा ५३ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए तर त्यसपछि नेपाली ब्याटिङ क्रमले नियमित अन्तरालमा विकेट गुमायो।

मध्यक्रममा गुल्शन झाले २ छक्कासहित १८ रन बनाए भने आदिल आलमले १६ रनको योगदान गरे। अन्य ब्याटरहरूबाट उल्लेख्य योगदान नआए पनि नेपालले सन्तोषजनक योगफल बनाउन सफल भयो।

जवाफमा १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका लागि विनायक शुम्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले २५ रन बनाए। बाँकी ब्याटरहरू नेपाली बलिङ सामु धराशायी भए।

नेपालका बलरहरू उत्कृष्ट रहे। गुल्शन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिँदै चमके। नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट जोडे।

बलिङतर्फ ओमानका लागि नदीम खान सर्वाधिक प्रभावशाली रहे। उनले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए। त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले पनि समान २–२ विकेट हात पारे।

यस जितपछि नेपालले सुपर–सिक्स चरणका चार खेलबाट ८ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। नेपाल र ओमान दुवै टोली यसअघि नै आगामी टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्।

यसअघि नेपालले आइतबार यूएई र सोमबार कतारलाई हराएको थियो। ओमानले पनि कतार र यूएईमाथि जित निकालेको थियो।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर