पोखरा । जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले बिहीबारदेखि सेवा पुनः सुरु गरेको छ । कार्यालयले अत्यावश्यक सेवासँगै नियमित सेवा पनि सञ्चालनमा ल्याएको मालपोत अधिकृत शोभाखर पोख्रेलले बताए।
उनका अनुसार कार्यालयमा क्षति पुगेपछि सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन थालिएको छ। अत्यावश्यक सेवा प्राथमिकतामा राखिएको भए पनि सकेसम्म सबै सेवाग्राहीलाई पूर्ण सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ पोख्रेलले भने।
आगजनीका कारण कार्यालयका करिब ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएका छन्। पोख्रेलका अनुसार आगलागीका क्रममा पोखरा महानगरपालिका–११, १२, १३ का साथै मौजा र हेम्जाका कागजात जोगिएका छन्। तर अन्य अधिकांश वडाका अभिलेख डढेका छन्।
कार्यालयले अहिले बाँकी रहेका अभिलेखका आधारमा सेवा सञ्चालन गर्दै नयाँ अभिलेख पुनःसंरचना गर्ने तयारी थालेको छ। सेवाग्राहीलाई असुविधा नहोस् भन्नका लागि कर्मचारीलाई अतिरिक्त समयसम्म खटाइने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
