सुचना१

लेखापढी कानुन व्यवसायीको पहलमा कास्की मालपोतमा अस्थायी कार्यालय सञ्चालन

आगजनीपछि अवरुद्ध सेवा पुनः सञ्चालनका लागि व्यवसायी र संघसंस्थाको संयुक्त पहल

पोखरा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको कास्की मालपोत कार्यालयमा तत्काल सेवा सुचारु गर्न नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले दुईवटा अस्थायी संरचना निर्माण गरी कार्यालयलाई हस्तान्तरण गरेको छ।

एशोसिएसनको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार सम्पन्न कार्यक्रममा अस्थायी भवनसँगै लाखौँ रुपैयाँ मूल्य बराबरका फर्निचर र कम्प्युटरलगायत कार्यालय सामग्रीहरू मालपोत कार्यालयलाई बुझाइएको हो।

इकाई अध्यक्ष मौसम कार्कीका अनुसार दुईवटा अस्थायी कार्यालय बनाउन करिब साढे २१ लाख रुपैयाँ खर्च भइसकेको छ। त्यसका साथै करिब १४ लाख बराबरका फर्निचर र २३ लाख मूल्यका कम्प्युटर तथा अन्य उपकरणहरू उपलब्ध गराइएको उनले बताए। संकटको समयमा सेवा अवरुद्ध नहोस् भनेर तत्काल प्रयोगमा ल्याउन मिल्ने संरचना तयार गरेका हौं , कार्कीले भने निर्माण र सहयोगको क्रम अझै जारी छ अन्तिम लागत केही समयपछि टुंगिनेछ।

पोखरा उद्योग वाणिज्य संघ, गण्डकी आवास व्यवसायी संघ, लेखापढी व्यवसायी, शुभेच्छुक व्यक्ति र विभिन्न संघ–संस्थाबाट सहयोग सङ्कलन गरिएको अध्यक्ष कार्कीले बताए। गत भदौ २४ गतेको आगजनीबाट कास्की मालपोत कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि सेवाग्राहीहरूका भौतिक रेकर्ड जलेर नष्ट भएका थिए।

भवन तथा सामग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले आन्दोलनमा घुसपैठमार्फत जेनजी अभियानलाई बदनाम गर्ने प्रयास भएको बताए। धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले सम्पूर्ण सहरलाई नोक्सानी पु¥याएको छ उनले भने। काठमाडौँपछि सबैभन्दा बढी जग्गा खरिद हुने जिल्ला कास्की रहेको जनाउँदै उनले भौतिक रेकर्ड नष्ट हुँदा हजारौं सम्पत्तिसम्बन्धी विवरण हराएको दुःख व्यक्त गरे।

आचार्यले भदौको आगजनीबाट पोखरा महानगरका २६ वडामा क्षति पुगेको स्मरण गर्दै ती वडाहरू असोज १ गतेदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार करिब दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भए पनि महानगरले सार्वजनिक सेवासँग सम्बन्धित कार्यालयहरू सञ्चालनमा ल्याउन हरसम्भव सहयोग गरिरहेको छ।

गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले प्रदेशका कार्यालयहरू क्रमशः सञ्चालनमा ल्याइँदै गएको बताए। उनका अनुसार कास्की यातायात कार्यालयमार्फत ब्लुबुकसम्बन्धी सेवा सञ्चालनमा आएको भए पनि ड्राइभिङ लाइसेन्स प्रणाली केन्द्रीय सर्भरमा समस्या हुँदा रोकिएको छ।

मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोखरेलले सम्भव भएसम्म चाँडो सेवा पुनः सुचारु गर्ने प्रतिबद्धता जनाए। अनेक संघ–संस्थाले सहयोगका हात बढाइरहेका छन्, जसले कार्यालय सञ्चालनमा सहजता ल्याएको छ उनले भने।

कार्यक्रम इकाई अध्यक्ष मौसम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलाकार कृष्ण कँडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखापढीका गण्डकी संयोजक खडानन्द लामिछाने र इकाई पोखराका कोषाध्यक्ष नरेश तिवारीले सम्बोधन गरेका थिए। कार्यक्रमको सञ्चालन लिला गिरीले गरेकी थिइन्।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की