पोखरा । कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँचदिने यमपञ्चक तिहार पर्व आजदेखि देशभर उत्साहपूर्वक सुरु भएको छ। पहिलो दिन काग तिहारका रूपमा मनाइँदैछ। बिहानैदेखि भक्तजनहरूले घर–आँगनमा कागका लागि दही, भात, सेलरोटी, माखनजस्ता परिकार अर्पण गर्दै पूजा–आराधना गरेका छन्।
वैदिक सनातन परम्पराअनुसार कागलाई यमराजको दूतका रूपमा मानिन्छ। मृत्युलोकका शुभ–अशुभ सन्देश यमलोकमा पुर्याउने विश्वास रहेकाले आजको दिन कागलाई प्रसन्न पार्ने उद्देश्यले पूजा गर्ने चलन रहिआएको हो। ‘काकेन दधि भक्षितम्’ मन्त्रसहित दही–भात अर्पण गर्दा कागले यमराजसमक्ष शुभ सन्देश पुर्याउँछ भन्ने धार्मिक मान्यता छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष सूर्योदयकालमै त्रयोदशी तिथि परेकाले आज आइतबार काग तिहार मनाउन शास्त्रसम्मत् दिन हो। शास्त्रमा कागलाई यमदूतका रूपमा पूजा गर्नाले घरमा अशुभ सन्देश नआओस् र शुभ समाचारले भरियोस् भन्ने विश्वास गरिएको उल्लेख छ।
लोकविश्वासअनुसार काग घर वरपर आई कराएमा पाहुना आउने वा शुभ घटना हुने संकेत मानिन्छ। त्यसैले आजका दिन कागलाई मीठा खानेकुरा खुवाउने र उसको आदर गर्ने परम्परा पुरातनकालदेखि चलिआएको हो। यमराजले लोकका समाचार कागका माध्यमबाट सुन्ने भएकाले उसलाई खुसी राख्दा परिवारमा दुःख–कष्ट नआओस् भन्ने भावना पनि यस पर्वमा जोडिएको छ।
देशभरका कागेश्वरी मन्दिरहरूमा आज विशेष पूजा–आराधना गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र काठमाडौंको हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। कागको प्रतीक मूर्तिलाई फूलमाला र प्रसाद चढाएर पूजा गर्ने परम्परा यतिखेर धुमधामका साथ मनाइँदैछ।
तिहारलाई यमपञ्चक पनि भनिन्छ। यसमा पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म हर्षोल्लासका साथ पर्व मनाइन्छ। शनिबार साँझदेखि नै यम दीपदान सुरु भएको थियो, जसअन्तर्गत घर–घरमा दक्षिण फर्काएर दीपदान गरिँदैछ। यम दीपदानले यमयातनाबाट मुक्ति दिलाउँछ भन्ने धार्मिक मान्यता छ।
तिहारको आगमनसँगै देशका सहर–बस्तीहरू झिलिमिली बत्ती र रङ्गोलीले सजिएका छन्। पोखरा, काठमाडौं, चितवन, बिराटनगरलगायतका सहरमा देउसी–भैलो खेल्ने तयारी सुरु भइसकेको छ। बजारहरूमा सयपत्री र मखमली फुलको रौनक छाएको छ भने घर–घरमा सरसफाइ र सजावटको चटारो देखिन्छ।
काग तिहारले केवल धार्मिक श्रद्धा मात्र होइन, मानव र प्रकृतिबीचको सह–अस्तित्वको सन्देश पनि दिन्छ। प्रकृतिप्रति कृतज्ञता र जनावरप्रति माया–आदरको प्रतीक यो पर्वले समाजमा करुणा, सम्वेदना र आपसी प्रेमको भाव फैलाउने अवसर प्रदान गर्छ।
