सुचना१

पोखरामा जर्मन पर्यटकमाथि खुकुरी देखाउँदै हातपात गर्ने दुई युवक पक्राउ

अनदु जंगल नजिकको घटनापछि प्रहरीले तत्कालै नियन्त्रणमा लियो

पोखरा । पोखरा महानगरपालिका–२२ अनदु जंगल नजिक आइतबार बिहान जर्मन नागरिकमाथि खुकुरी देखाउँदै हातपात गर्ने दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान करिब ९ः१० बजे सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक एएनएस पिटर मार्टिनमाथि डरत्रास देखाउँदै दुर्व्यवहार गरेको आरोपमा ती युवाहरू पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

मार्टिन एक्लै जंगलतर्फ हिँडिरहेका बेला ती युवाहरूले खुकुरी देखाउँदै हातपात गरेका थिए। घटनापछि मार्टिनले तत्कालै प्रतीकार गरी भाग्न सफल भएका र नजिकैको प्रहरी टोलीलाई खबर गरेका थिए। खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले दुबै युवकलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले पर्यटक र आम नागरिकको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। प्रहरीका अनुसार, कुनै पनि नागरिक वा पर्यटकमाथि डर, धम्की, लुटपाट वा जबरजस्ती व्यवहार देखिए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की