सुचना१

सातै प्रदेशमा नर्स कार्यदल गठन, पारिश्रमिक सुधारको पहल

पोखरा । उचित पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गर्न संघर्षरत नर्सहरूको माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरेकी थिइन्। आइतबार बसेको समितिको पहिलो बैठकले सातै प्रदेशमा कार्यदल गठन गरी स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ।

नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत नर्सका प्रतिनिधि कार्यदलमा रहनेछन्। समितिका सदस्य डा. अनुप बाँस्तोलाका अनुसार कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै काम अघि बढाउनेछ।

प्रधानमन्त्री कार्कीले मन्त्रीस्तरीय निर्णयमार्फत नर्सिङ स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा र अन्य समस्या सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन कार्यान्वयन योजना ७ दिनभित्र समितिसँग पेश गर्न निर्देशन दिएकी थिइन्।

कार्यदलले आउँदो दीपावली र छठको बिदालाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट पनि अध्ययन र अनुगमन जारी राख्नेछ। समितिले सबै आवश्यक प्रक्रिया भित्रिनु अघि नर्सहरूको माग र सुझाव संकलन गर्ने जनाएको छ।

समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ। यसमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनसहित निजी क्षेत्रका प्रतिनिधि पनि अनिवार्य उपस्थित हुने व्यवस्था गरिएको छ। समितिले तयार गर्ने प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिनेछ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की