पोखरा । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिलाल लुईटेल, तत्कालीन लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा प्रतिवादी बनाइएका छन्। आयोगका अनुसार उनीहरूले आपसी मिलेमतो गरी आ.व. २०७८/७९ मा सूचना प्रविधि (ICT) कार्यक्रम अन्तर्गत विद्यालयलाई प्राप्त रु.६ लाख ५० हजारको रकमबाट विभिन्न उपकरण खरिद गर्ने क्रममा हिनामिना गरेका थिए।
अनुसन्धानका क्रममा उनीहरूले खरिद गरेको भन्दै नक्कली दाखिला प्रतिवेदन तयार पारेका र खरिद सूचीमा उल्लेख गरिएका केही सामग्री विद्यालयमा नपुगेको पाइएको अख्तियारले जनाएको छ। ती उपकरणमध्ये दुई थान कम्प्युटर, एक प्रोजेक्टर र एक प्रिन्टर विद्यालयमा नलागेको देखिएको छ, जसको मूल्य करिब रु.२ लाख १७ हजार बराबर रहेको आयोगको भनाइ छ।
त्यसैगरी, तत्कालीन प्रधानाध्यापक लुईटेलले विद्यालय व्यवस्थापन समितिको निर्णय बिना नै आफ्नै नाममा रु.२ लाख ५४ हजार ६६७ रुपैयाँ सापटीका नाममा विद्यालयको खाताबाट निकालेको र फिर्ता नगरेको पाइएको छ। यसरी गरिएको दुवै प्रकारको अनियमितताबाट विद्यालयको कोषमा जम्मा रु.४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा बराबरको हिनामिना भएको अख्तियारको निष्कर्ष छ।
गल्याङ नगरपालिकाको प्रतिवेदन र अख्तियारको स्थलगत अनुगमनमा पनि हिनामिना पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद सजाय, बिगो बराबरको जरिवाना र विद्यालयमा रकम असुलउपर गराउने मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, प्रतिवादीहरूले विद्यालयको कोषमा हिनामिना गरेको रकम असुलउपर गर्न र भ्रष्टाचारजन्य कसूरमा कानूनी कारबाही गर्न मागदाबी गरिएको छ।






