newa srijana

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

पोखरा । आस्था, संयम र आत्मशुद्धिको प्रतीक छठ पर्वको मुख्य दिन आज साँझ गण्डकी प्रदेशभर अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ।

कार्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरूले बिहान स्नान गरी दिनभर निराहार बस्ने र साँझ सूर्यदेवको आराधना गर्ने परम्परा रहँदै आएको छ। अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने चलन छ।

चार दिनसम्म चल्ने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन सम्पन्न हुन्छ। चतुर्थीमा स्नान गरी एकछाक खानु, पञ्चमीमा ‘खरना’ गरी खीरको प्रसाद चढाई फलाहार ग्रहण गर्नु र षष्ठीका दिन कठोर निराहार व्रत बस्नु यसको मुख्य विधि हो।

सिटीजन फनिच्रर

तराईमा सुरु भएको यो पर्व अहिले गण्डकी प्रदेशमा पनि समान श्रद्धाका साथ मनाइँदैछ। पोखराको फेवाताल, बगरको सेतीघाट, नयाँबजार मादी किनार र बेगनासतालमा आज साँझ हजारौँ व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीमा छन्। पोखरा छठ पूजा समितिका अनुसार घाटहरूमा मण्डप सजावट र सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ।

नवलपुर, तनहुँ, स्याङ्जा र परासीका विभिन्न नदीघाटहरूमा पनि छठ पूजाका लागि व्यवस्थापन गरिएको छ। छठका व्रतालुले चतुर्थीदेखि नै सात्विक जीवनशैली अपनाउँदै चोखो खानपानमा बस्ने गर्छन्।

सूर्यलाई जीवन र ऊर्जाको स्रोत मानेर प्रकृति र सृष्टिप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा छठलाई लिइन्छ। आस्था, पवित्रता र सहअस्तित्वको सन्देश दिने यो पर्व गण्डकी प्रदेशमा पनि साझा संस्कारका रूपमा गहिरिँदै गएको छ।

अनिल multipurpose
आहा रारा
वडा नं २६