पोखरा । उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकलमा आएर सुनको सिक्री चुडालेर लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। स्वयम्भू वृत्तबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा सिन्धुली हरिहरगढी–६ का २८ वर्षीय राज लामा, उदयपुर ताप्ले–४ का २० वर्षीय दुर्गबहादुर मगर (विशाल), रामेछाप लिखु तामाकोसी–६ का ३२ वर्षीय दिलबहादुर विक, बागलुङ गल्कोट–२ का ४० वर्षीय गोविन्द सुनार र कैलाली लम्कीचुहा–७ का २२ वर्षीय दिपेश रसाइली छन्। उनीहरू भक्तपुर र काठमाडौंका विभिन्न ठाउँमा डेरा बस्दै आएका थिए।

लामा र मगर मोटरसाइकलमा सवार भई सिक्री तान्ने मुख्य व्यक्ति हुन् भने विकले लुटेको सुन लक्ष्मी ज्वेलर्स सल्लाघारीमार्फत बिक्री गर्दै आएका थिए। सुनारको बूढानीलकण्ठ–६ सरस्वतीनगरस्थित बागलुङ कालिका ज्वेलर्स र रसाइलीको काठमाडौं–२२ मनु जेम्स एण्ड ज्वेलर्सले लुटपाटको सुन खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
गिरोहले गत असोज ८ देखि कात्तिक १ गतेसम्म ललितपुरको नख्खुडोल, काठमाडौंको नागार्जुन, तारकेश्वर, रामकोट र बुद्धचोक क्षेत्रमा गरी सातवटा लुटपाट गरेका थिए। जसमध्ये १.५ तोलादेखि ३ तोलासम्मका सिक्री र एउटा सामसङ मोबाइल लुटिएको थियो।
राज लामा र दुर्गबहादुर मगरको भक्तपुर तिनधारेस्थित डेराबाट प्रहरीले चारवटा सामसङ, दुई रेड्मी, तीन आइफोन, एक इन्फिनिक्स डमी मोबाइल, ७० वटा विभिन्न कम्पनीका सिमकार्ड, मेमोरी कार्ड, मोटरसाइकल चोरी गर्ने टी–आकारका औजार, दुईवटा मोटरसाइकल, चालक अनुमतिपत्र र लुटपाटमा प्रयोग भएका लत्ता कपडा बरामद गरेको छ।
दिलबहादुर विकको सल्लाघारी ज्वेलर्सबाट ३ लाख ८८ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ भने दिपेश रसाइलीको कुलेश्वर कोठाबाट ६४ लाल तौलका चारवटा सुनका ढिक्का फेला परेको छ।

यसैगरी गोविन्द सुनारको कपनस्थित बागलुङ कालिका ज्वेलर्सबाट ९५ लाल, १ तोला ६४ लाल, १ तोला ५८ लालका साना ढिक्का पाँचवटा, ८३ लाल, ३९ लाल र २ तोला १४ लालको सिक्रीसहित जम्मा ७ तोला ४८ लाल सुन तथा १ लाख ६६ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रउ पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीले लुटपाटमा प्रयोग भएका दुई मोटरसाइकल र चोरीका अन्य सामानसमेत नियन्त्रणमा लिएको छ। अनुसन्धानबाट गिरोहले सुन बिक्री गरेर आएको रकम आपसमा बाँड्ने गरेको पाइएको छ।






