पोखरा । स्याङ्जामा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न चार ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ स्थित आँधिखोला क्षेत्रमा अवैध उत्खनन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा बिहीबार प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार दुईघरे–दुलेरह–पुतलीखेत पक्की पुलदेखि माथिल्लो भागमा ट्रयाक्टरहरूले नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा फेला परेका थिए।

नियन्त्रणमा लिइएका ट्रयाक्टरहरू ग १ त ५१७१, ग १ त ६४४० (अगाडिको इन्जिन भागमा ग १ त ६४४० र पछाडिको ढालामा ग १ त ५७३९ अंकित), ग १ त ५७४० र ग १ त ४६३० रहेका छन्। ती ट्रयाक्टरहरूलाई थप अनुसन्धान र कारबाहीका लागि पुतलीबजार नगरपालिका कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नदीजन्य पदार्थको अवैध उत्खननले स्थानीय पर्यावरण र नदी संरचनामा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती र सूचना सङ्कलनलाई तीव्र बनाइएको छ।






