सुचना१
newa srijana

भ्रामक सूचनाले समाजमा द्वन्द्व बढाउँछ: विद्यार्थीलाई सचेतना कार्यक्रम

पोखरा । मिथ्या र भ्रमपूर्ण सूचनाका चुनौतीबारे विद्यार्थीलाई सचेत गराउन पोखरामा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरा-१३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का १०० भन्दा बढी विद्यार्थीबीच यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले सूचना मानव अस्तित्वको ‘अक्सिजन’ भएको बताउँदै सही सूचनाले सशक्तीकरण ल्याउने उल्लेख गरे । उनले गलत सूचना खतरनाक हतियार बन्न सक्ने चेतावनी दिँदै यसका तीन प्रकारहरू— मिथ्या सूचना, दुष्प्रचार र खराब सूचनाबारे जानकारी दिए । ‘मिथ्या सूचना प्रायः अनजानमा फैलिन्छ, दुष्प्रचार नियोजित रूपमा अरूलाई भ्रमित पार्न गरिन्छ, र खराब सूचना सत्य भए पनि बदनामीका उद्देश्यले प्रयोग गरिन्छ,’ लामिछानेले भने ।

हालैको जेनजी आन्दोलनका क्रममा फैलिएका अनेकौँ गलत सूचनाले समाजमा द्वन्द्व र आतंक निम्त्याएको उदाहरण लामिछानेले पेस गरे । उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको मृत्यु, एमाले अध्यक्ष केपी शर्मा ओलीको नक्कली पत्र, शिक्षामन्त्री महावीर पुनको एआई तस्बिर, पत्रकार भाग्य न्यौपानेका सम्बन्धमा गरिएको झुटा दाबी र संसद भवनमा ३२ जनाको मृत्यु भएको अफवाहजस्ता सूचनाले आन्दोलनलाई हिंसात्मक बनाएको जनाए ।

विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले सूचना साक्षरताको अभ्यासले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन सहयोग पुर्‍याउने बताए । विद्यालयका कक्षा ११-१२ संयोजक उपेन्द्र सुवेदीले विद्यार्थीलाई सही सूचना छनोट गर्न सिकाउनु अहिलेको जरुरी विषय भएको उल्लेख गर्दै आगामी दिनमा यसमा ध्यान दिन सबैलाई अनुरोध गरे । सहायक प्रधानाध्यापक प्रदीप भण्डारीले गलत सूचना छुट्याउन सके विद्यार्थीमा सोच्ने र विश्लेषण गर्ने क्षमता विकास हुने बताए ।

अन्तक्र्रियामा सहभागी विद्यार्थीहरूले आफूलाई सही र गलत सूचना छुट्याउन सजिलो भएको भन्दै मञ्चलाई धन्यवाद दिए । उनीहरूले आगामी दिनमा तथ्यपरक र पुष्टि भएका सूचना मात्रै सेयर गर्ने प्रतिज्ञा गरे ।

कार्यक्रम संयोजक एवं निवर्तमान अध्यक्ष भरत कोइरालाले अहिलेको पुस्ता सूचना र प्रविधिसँग हुर्किएकाले गलत र भ्रामक सूचना छुट्याउन झनै आवश्यक भएको बताए । मञ्चले यसअघि पोखरामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, व्यवसायीसहित विभिन्न पेसामा आबद्ध व्यक्तिहरूका लागि पनि यस्तै सचेतनामूलक कार्यक्रम गरेको उनले जानकारी दिए । मञ्चका अध्यक्ष विशन क्षेत्रीले यस्ता कार्यक्रमले पत्रकार, विद्यार्थी र सरोकारवालाबीच सूचना सन्तुलन र सत्यतामुखी पत्रकारिताप्रतिको चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की