सुचना१
newa srijana

पोखरामा राष्ट्रिय कर दिवस मनाइयो, १ अर्ब ५० करोड बढी राजस्व सङ्कलन

पोखरा । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले कास्की र स्याङ्जाका दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मङ्सिर १ गते मनाइने यो दिवस नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको स्मरणमा हरेक वर्ष धुमधामका साथ मनाउने गरिन्छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर तिर्ने आरकेडी होल्डिङ्स लिमिटेड (कास्की) र करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर तिर्ने खिलुङ कालिका कन्स्ट्रक्सन प्रालिलाई सम्मान गरियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

गत आर्थिक वर्ष २०८१/८२ मा आरकेडी होल्डिङ्सले २ करोड १६ लाख ४९ हजार १४१ रुपैयाँ र खिलुङ कालिकाले ८५ लाख ८६ हजार ५१४ रुपैयाँ कर बुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्र देश विकासको मेरुदण्ड भएको बताइन् । निजी क्षेत्रलाई प्रोत्साहन र करमैत्री वातावरण बनाउनु राज्यको दायित्व हो उनले भनिन् । उनले व्यवसायीको मनोबल उच्च राख्न प्रशासनले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

यस्तै प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर सेवा थप प्रविधिमैत्री र सहज बनाइने तथा करको दायरा फराकिलो पार्दै लगिने बताए । उनले आर्थिक ऐन २०८२ मा व्यवस्था भएका विभिन्न छुट तथा सुविधाको अधिकतम उपयोग गर्न करदातालाई आग्रह गरे ।

सम्मानित आरकेडी होल्डिङ्सका अध्यक्ष रामचन्द्र शर्माले कर तिर्नु ठूलो चुनौती नभए पनि वित्तीय साक्षरता बढाउन र कर बुझाउने प्रणालीलाई एकीकृत गर्न आवश्यक रहेको धारणा राखे । उनले नयाँ उद्यमीलाई राज्यले थप सहुलियत दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला, स्याङ्जा उद्योग वाणिज्य सङ्घका अध्यक्ष महादेव श्रेष्ठलगायतले निजी क्षेत्रको मनोबल उठाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा एकमत भए ।

चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ५० करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ५४ लाखले बढी हो । गत वर्ष यही अवधिमा १ अर्ब ४८ करोड ६६ लाख ६६ हजार मात्र सङ्कलन भएको थियो ।

यसमध्ये आयकरबाट ८१ करोड ४६ लाख, मूल्य अभिवृद्धि करबाट ५२ करोड २४ लाख, अन्तःशुल्कबाट १२ करोड ७१ लाख र विलासिता शुल्कबाट ३ करोड ७८ लाख रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालय अन्तर्गत कास्की र स्याङ्जा गरी ६९ हजार ८०६ व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) दर्ता छन् । जसमध्ये १२ हजार ८६९ भ्याट दर्ता र ४ हजार ५४२ अन्तःशुल्क दर्ता छन् । त्यस्तै व्यक्तिगत प्यान लिनेको सङ्ख्या २ लाख १८ हजार १२९ पुगेको छ ।

यस वर्षदेखि स्याङ्जाको करदाता सेवा कार्यालय हटाइएको र सबै सेवा पोखराबाटै प्रवाह भइरहेको कार्यालयले जनाएको छ ।

Sadak 1
पुल सेन्टर