सुचना१
newa srijana

भदौरेमा पुस ३ देखि २७ औँ पञ्चासे कोदो महोत्सव सुरु हुँदै

पोखरा । अन्नपूर्ण गाउँपालिका–६ भदौरे कास्कीमा पुस ३ देखि ७ गतेसम्म २७ औँ भदौरे पञ्चासे कोदो महोत्सव तथा तमु ल्होसार २०८२ सुरु हुने भएको छ। महोत्सव खेलकुद, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन केन्द्रित रहने आयोजकले जनाएको छ।

सांस्कृतिक महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरूले नृत्य, गीत, हास्य–व्यङ्ग्य प्रस्तुति प्रस्तुत गर्नेछन्। क्लबका अध्यक्ष अनिल कुमार गुरुङका अनुसार गुरुङ, क्षेत्री, ब्राह्मण र बि•कलगायत समुदायका जातीय पहिरन र सांस्कृतिक टुकी प्रदर्शन महोत्सवको मुख्य आकर्षण हुनेछ।

त्यो महोत्सवले पञ्चासे क्षेत्रको जातीय विविधता, परम्परागत पहिरन र सांस्कृतिक टुकी एकै स्थानमा प्रस्तुत गर्दै सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ। यस वर्ष कार्यक्रम अझ आकर्षक र सहभागीमूलक बनाइने गुरुङले बताए।

आमा समूहबीच रेस, नृत्य, कुट्नी–झुमाई, घेटो फुटाउने, डिडो खाने, तेक्वान्डो, दौड तथा चित्र–प्रदर्शनीसमेत आयोजना हुनेछन्। आयोजकका अनुसार यी परम्परागत प्रतिस्पर्धाले स्थानीय संस्कार जगेर्नामा मद्दत गर्दै आएका छन्।

सिटीजन फनिच्रर

‘जीवन खेल हो, खेल नै जीवन हो’ नारासहित हुने खेल प्रतियोगितामा पुरुष भलिबल विजेताले १ लाख र दोस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। ५–ए–साइड फुटबलमा पहिलो पुरस्कार ५० हजार र दोस्रो २५ हजार तोकिएको क्लबका सचिव शक्ति गुरुङले बताए। ठेलो प्रतियोगिताका लागि १० हजार, ५ हजार र २ हजार रुपैयाँ पुरस्कार राखिएको छ। सबै खेलमा दर्ता शुल्क निःशुल्क रहनेछ।

महोत्सवको केन्द्रीय विषय ‘कोदो’ रहनेछ। पञ्चासे क्षेत्रको स्थानीय पहिचान मानिने कोदोकै ढिँडो, सेल, खाजा तथा पेयपदार्थ प्रदर्शन हुनेछ। कोदाको उत्पादन, प्रशोधन, बजार विस्तार र मूल्यवृद्धिबारे अन्तरक्रिया हुने छ। कोदोका परिकार चाख्न आउने पर्यटक बढेपछि स्थानीय व्यवसायी उत्साहित रहेको आयोजकको भनाइ छ।

२,५०० मिटर उचाइमा अवस्थित पञ्चासे धार्मिक, प्राकृतिक तथा हिमशृङ्खला दृश्यका कारण पर्यटकीय महत्त्व बोकेको क्षेत्र हो। महोत्सवले स्थानीय होमस्टे, होटल र ग्रामीण अर्थतन्त्र सक्रिय हुने अपेक्षा गरिएको छ। पुस मसान्ततिर मौसम अनुकूल हुने भएकाले आन्तरिक पर्यटक बढ्ने अनुमान गरिएको छ।

महोत्सव सफल बनाउन स्थानीयवासी, आमा समूह, युवा, व्यवसायी तथा सामाजिक संस्थाको सक्रियता रहेको क्लबले जनाएको छ। संरक्षक अन्नपूर्ण गाउँपालिका, प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेका छन्। सम्पूर्ण व्यवस्थापन श्री भदौरे क्लबले गरेको छ।

Tiger cup
वडा नं २६