सुचना१
newa srijana

‘निट पत्रकारिता पुरस्कार’ बाट कोइराला सम्मानित

पोखरा । फोनिज गण्डकी प्रदेशले ‘निट पत्रकारिता पुरस्कार’ बाट भरत कोइरालालाई पुरस्कृत गरेको छ।

निट डेण्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकार कोइरालालाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।

प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबी आस्था मगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए।

फोनिज गण्डकीले सञ्चालन गर्ने गरी कम्पनीले पत्रकारिता पुरस्कारका लागि गत साता ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । उक्त पुरस्कार वार्षिकरुपमा प्रदान गरिने फोनिज गण्डकी उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले बताए।

स्याङ्जा पुतलीबजारका कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक छन् । त्यसअघि आदर्श समाजका सम्पादक थिए । २०५९ सालदेखि काठमाडौंमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरुवात गरेका उनी २०६५ देखि पोखरामा क्रियाशील छन् । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उनले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता पढाउँछन् ।

यसअघि, उनी पोखरा आर्थिक पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार र रोयल पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका थिए । संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष उनी पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भई काम गरेका थिए ।

औद्योगिक व्यापार मेला

समारोहमा पोखराका मेयर आचार्यले जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताए । साथै, उनले पुरस्कृत पत्रकार तथा निट डेन्टलका सम्मानित व्यक्तित्वलाई बधाई दिए ।

नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेका पुरस्कार पहिलोपल्ट गैरफोनिजमा जानु सकारात्मक सन्देश भएको बताए । उनले पोखरामा वेलनेस टुरिजम विकास हुँदै गएकोमा विश्वमै महँगो उपचारमा गनिने दाँत उपचारमा निटले गण्डकीकै आफूलाई स्थापित गर्न सक्ने शुभेक्षा व्यक्त गरे ।

पुरस्कृत व्यक्तित्व कोइरालाले पुरस्कार छनोट टिमप्रति आभार व्यक्त गर्दै समाजमा आश गर्न सकिने ठाउँ भनेकै निजी क्षेत्र हो भने । उनले पुरस्कारबारे विभिन्न ‘स्कुल अफ थट’ रहेको उल्लेख गर्दै निजी क्षेत्रले स्थापित गर्ने पुरस्कार सबै नराम्रा भन्ने हुँदैनन् भने ।

प्रतिभा छनोट समित संयोजक एमबि आस्थाले पुरस्कार वितरणको मापदण्ड र छनोट प्रक्रियाबारे बताएका थिए ।

आइवा एजुकेशन कन्सल्टेन्सीसमेत सञ्चालक रहेका निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले विविध सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै यसपालि पत्रकारको हितमा पनि केही गरौं भन्ने सोच रहेकोमा भिनाजु (एमबि आस्था) समेतको सुझावमा पुरस्कार स्थापना गरिएको बताए । उनले आफू खास धनाढ्य भएर पुरस्कार स्थापना गरेको नभई केही नयाँ गरौं भनेर मात्र स्थापना गरिएको प्रस्ट पारे । यसवापत् पत्रकारिता क्षेत्रबाट आफूले त्यस्तो लाभ लिने सोच नरहेको दाबी गरे ।

फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष सुमन र सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए । सो अवसरमा निट डेण्टलले कम्पनीमा कार्यरत् चिकित्सकसहित कर्मचारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरेको थियो । सो अवसरमा एलिसा गुरुङ र सरु खत्रीले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।

महेन्द्रपुल मेडिकल लाइनस्थित निट डेन्टल केयर प्रालि ३ वर्षदेखि सञ्चालित छ । यसैको माथिल्लो तलामा आइवा एजुकेशन कन्सल्टेन्सी छ ।

पुल सेन्टर
Sadak 1