पोखरा । गण्डकी प्रदेशको कास्की जिल्लाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–९ मा पर्ने भुरुङ्दी खोलामा पक्की मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ।
वीरेठाँटी–तीखेढुङ्गा–उल्लेरी–वनठाँटी–घोडेपानी हुँदै मुक्तिनाथ जोड्ने महत्वपूर्ण सडक खण्डमा निर्माण हुन लागेको यो पुल अन्नपूर्ण क्षेत्रको ट्रेकिङ र पर्यटन व्यवसायका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ।
पुल निर्माणको शिलान्यास अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गर्नुभयो। लामो समयदेखि प्रतिक्षारत यो महत्वाकांक्षी योजनालाई अगाडि बढाउन गाउँपालिकाले निरन्तर पहल गर्दै आएको र अब औपचारिक रूपमा काम सुरु भएको अध्यक्ष केसीले बताउनुभयो। उहाँले पुल निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित सबै निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो।

यसअघि भुरुङ्दी खोलामा पक्की पुल नहुँदा स्थानीय बासिन्दा तथा पर्यटकहरू अस्थायी व्यवस्था वा जोखिमपूर्ण तरिकाबाट आवतजावत गर्न बाध्य थिए। विशेष गरी वर्षायाममा खोला बढ्दा यात्रा झनै कठिन र जोखिमपूर्ण हुने गरेको थियो।

अन्नपूर्ण परिक्रमाका प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी र मुक्तिनाथ जाने यो सडक मार्गले ट्रेकिङ तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पुल निर्माणप्रति स्थानीय पर्यटन व्यवसायी र बासिन्दा उत्साहित देखिएका छन्। पुल निर्माणपछि पोखरा लगायत शहरी क्षेत्रबाट आउने पर्यटकहरूलाई यी गन्तव्यसम्म सहज र भरपर्दो पहुँच हुने अपेक्षा गरिएको छ।
वडा नम्बर ९ का वडाध्यक्ष रमेश गुरुङले पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। उहाँका अनुसार यो पुल स्थानीय विकासको दृष्टिले महत्वपूर्ण उपलब्धि हो।
यसैबीच गत वर्ष नेपाल सरकारका तत्कालीन सहसचिव तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव विनोद कुँवरको टोलीले गरेको स्थलगत अनुगमन र विशेष पहलले पनि योजनालाई गति दिन महत्वपूर्ण भूमिका खेलेको स्थानीयले स्मरण गरेका छन्। उक्त टोलीको अनुगमनपछि बजेट विनियोजनमा सहयोग पुगेको उनीहरूको भनाइ छ।

पुल निर्माणले यातायात सहज बनाउनुका साथै यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। विद्यालय, स्वास्थ्य संस्था र बजार केन्द्रसम्म पहुँच सहज हुनुका साथै आपतकालीन अवस्थामा बिरामी ढुवानी र आवश्यक सामग्री ओसारपसारमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।





