पोखरा । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि लुम्बिनी लायन्सको हात परेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो।
फाइनलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको थियो। १९ ओभर एक बलमा ८५ रनमा अल आउट भएको सुदूरपश्चिमका लागि ओपनर ईशान पाण्डेले ३३ रन बनाए। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकसहित उत्कृष्ट बलिङ गर्दै खेलको क्रममा ११औं ओभरमा लगातार तीन विकेट लिए। शेर मल्ल र रुबेन ट्रम्पलमानले क्रमशः तीन–तीन विकेट लिए।
लुम्बिनीले दिएको लक्ष्य ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए भने निरोशन डिक्वेला र दिलिप नाथ क्रमशः ११ र १ रनमा अविजित रहे।

उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ। सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरे। तेस्रो स्थानमा विराटनगर किङ्स २५ लाख र चौथो स्थानमा काठमाडौं गोर्खाज १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
पहिलो संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनीले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेता बनेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोलीको सहभागितामा भएको प्रतियोगिता मंसिर १ गतेदेखि सुरु भएको थियो।





