पोखरा । मुस्ताङको मुक्तिनाथ स्थित होटल एसोसिएसनले प्रमुख तीर्थस्थल मुक्तिनाथ क्षेत्रको विकास र प्रर्वद्धनमा विशेष पहल गर्ने भएको छ ।
बिहीबार एशोसिएसनले मुक्तिनाथमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र पर्यटकीय सेवा सुधारका लागि विशेष योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन विभिन्न कार्यक्रम अगाडि बढाईएको जानकारी दिनुभयो। उहाँले थोरङला पासको बीचमा रहेको मुक्तिनाथ क्षेत्रमा मन्दिरबाहेक पनि विष्णुकुण्ड लगायत अन्य धार्मिक स्थलहरूको प्रचारप्रसार गर्ने योजना रहेको बताउनुभयो।
गण्डकी प्रदेश सरकारले मुक्तिनाथदेखि तिलिचो जाने ट्रेकिङ रुटका लागि बजेट विनियोजन गरेको एसोसिएसनले जनाएको छ। यो रुट विकास भएमा पदयात्री पर्यटकको संख्या बृद्धि हुने अपेक्षा गरिएको छ। नयाँ गन्तव्यहरूको खोजी र संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि एसोसिएसनको योजनामा छ।

पर्यटकहरूलाई सही जानकारी उपलब्ध गराउन एसोसिएसनले विशेष पहल गरेको छ। तातोपानी र घासादेखि नै होटलहरूको विवरण, सम्पर्क नम्बर र श्रेणी खुलाइएको होल्डिङ बोर्ड राख्ने निर्णय भएको अध्यक्ष गुरुङले बताउनुभयो। पोखरामा तयारी भइरहेको यो बोर्डले पर्यटकलाई पहिल्यैबाट होटल बुकिङ गर्न सहज हुने उहाँको भनाइ छ।
३८ सय मिटरको उचाइमा अवस्थित मुक्तिनाथबारे फैलिएको भ्रम हटाउन एसोसिएसनले विशेष जोड दिएको छ। जोमसोमदेखि मुक्तिनाथसम्म सात स्थानमा स्वास्थ्य सुरक्षा संस्थाहरू रहेको र कुनै समस्या भएमा उपचार लिन सकिने एशोसियसनले जनाएको छ।
२०१० सालपछि मोटरबाटो पुगेदेखि मुक्तिनाथमा एक अर्बभन्दा बढीको लगानी भइसकेको समेत अध्यक्ष गुरुङले बताउनुभयो। सबै होटलले नेपाली तथा विदेशी पर्यटक दुवैका लागि समान दर कायम गरेको उहाँले भनाई छ।
मुक्तिनाथ मन्दिरमा आरती गर्ने व्यवस्था यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको एसोसिएसनले जनाएको छ। यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। भविष्यका योजना अन्तर्गत छुङदेखि कागबेनीसम्मको मुक्तिनाथ उपत्यकामा जिप सफारी सञ्चालन गर्ने र मुक्तिनाथ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने योजना रहेको एसोसिएसनले जनाएको छ।
हाल मुक्तिनाथमा ४ लक्जरी होटल, २२ स्ट्यान्डर्ड होटल र ११ सेमी स्ट्यान्डर्ड होटल सञ्चालनमा छन्। यसबाहेक १० वटा रेस्टुरेन्ट रहेका छन्। करिब ६ सय कोठा र १२ सय बेड रहेको यस क्षेत्रमा एकै रात १२ सयभन्दा बढी पर्यटकलाई सेवा दिन सकिने एसोसिएसनको दाबी छ।





