newa srijana

स्याङ्जामा लागुऔषध सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध सेवन गरी सवारी साधन चलाउने नौ जना चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार पुतलीबजार नगरपालिका-१ स्थित बसपार्क नजिकैको सिद्धार्थ राजमार्गमा चेकजाँच गर्दा नौ जना चालकले लागुपदार्थ सेवन गरी गाडी चलाएको पाइएको हो।

नियन्त्रणमा परेकामा जिल्ला रौतहटका २७ वर्षीय अक्षय कुमार चौधरी, स्याङ्जाका ४१ वर्षीय याम बहादुर गुरुङ, १९ वर्षीय लिजन थापा, अभिषेक सारु, २१ वर्षीय सुमन अर्याल, २३ वर्षीय सुविन गुरुङ र २८ वर्षीय राजिन नेपाली रहेका छन्। यस्तै कपिलबस्तुका २३ वर्षीय सोवित कुमार गुप्ता र विवेक कुमार चौधरी पनि पक्राउ परेका छन्।

Mountain run pokhara click
सिटीजन फनिच्रर

पक्राउ परेकामध्ये एक जना ट्रक चालक, एक जना हाइस चालक र बाँकी सात जना मोटरसाइकल तथा स्कुटर चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सबै चालकलाई स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाएको छ। लागुऔषध सेवन मुद्दामा कारबाही प्रक्रिया शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय  स्याङ्जाका  प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए।

सडक दुर्घटना न्यूनीकरण र यात्रालाई सुरक्षित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत वैशाख २३ गतेदेखि “लागुपदार्थ सेवन चेकिङ अभियान” सञ्चालन गरिरहेको छ। अभियान अन्तर्गत नियमित रुपमा विभिन्न ठाउँमा चेकजाँच हुने गरेको प्रहरीले बताएको छ।

Rabin photo