पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।
महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली पत्रकारिता आज गहिरो आर्थिक संकटमा पुगेको ठहर गर्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको जनाइएको छ । भेलाले देशभर तथा विशेषतः गण्डकी प्रदेशका पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेशागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरेको छ ।
महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलद्वारा जारी घोषणापत्रमा भनिएको छ, ‘तीन तहकै सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन सुनिश्चित गरिनुपर्दछ । प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक र सहज बनाउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै सूचना र विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिन आग्रह गर्दछांै ।’
नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेशामा टिकाइराख्न सुरक्षित आम्दानी, करियर विकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य भएको ठहर गरेको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिम मध्यनजर गर्दै पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेशागत आचारसंहिताको कडाइका साथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।
संघ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन माग गरिएको छ ।
यसैगरी, विज्ञापन बोर्डले मिडियालाई अलमल पार्नेभन्दा सहज, सहजीकरणमुखी र विश्वासयोग्य बनाउनुपर्ने, गण्डकीभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिस्टारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत् दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउनुपर्ने, प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन रकम अत्यन्त कम र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न पनि आग्रह गरिएको छ । जेनजी आन्दोलनमा क्षति पुगेका मिडिया हाउस र पत्रकारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

हालको अन्योलपूर्ण अवस्थाको निकास र संविधान रक्षाका लागि यथासमयमा भयरहित निर्वाचन गर्न र गराउन सरकार तथा दलहरूलाई आग्रह गरिएको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको भेलामा ११ वटै जिल्ला शाखाले एकवर्षे कार्यकालको प्रगति विवरण, चुनौती तथा भावी योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासंघ अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतले महासंघका गतिविधिबारे जानकारी दिँदै पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । उनीहरुले महासंघका सदस्यको पेसागत हकहित र सुरक्षामा महासंघ सधैँ साथमा रहेको बताए ।
शुक्रबार उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको पेसामाथि संकट गहिरिँदै गएको, परम्परागत मिडियाले डिजिटल युगको चुनौती सामना गर्न नसकिरहेको अवस्थामा प्रेस रजिष्ट्रार कार्यालय नियामक निकाय मात्र नभई, पत्रकारको क्षमता र वृत्ति विकासमा पनि सहयोग गर्न तयार रहेको बताइन् ।
भेलामा महासंघका केन्द्रीय सदस्यहरु छविलाल तिवारी, केवी राना, कृष्ण केसी, महासंघ गण्डकी सल्लाहकार गोविन्द सुवेदी, नारायण शर्मा, महासंघ गण्डकी महिला उपाध्यक्ष माया अधिकारी लगायतले बोलेका थिए ।
महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले महासंघका विधानतः व्यवस्थाबमोजिम गण्डकीले भेला आयोजना गरेको प्रस्ट पारे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेल, सञ्चालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन भेला आयोजक समिति संयोजक एवं महासंघ गण्डकी सचिव भविश्वर पाण्डेले गरे ।
यसैबीच, महासंघले पत्रकारलाई ‘क्षमता अभिवृद्धि तालिम’ पनि दिएको छ । तालिमको सहजीकरण गर्दै पत्रकार भरत कोइरालाले ‘पत्रकारिताः चुनौती र नवीनता’ विषयमा कार्यपत्र प्रस्तुत गरे । पछिल्लो समय छापा तथा एफएम रेडियो बन्द हुुने क्रम नेपालमात्र नभई विश्वभर तीव्र रहेको, पत्रकारको पेसा संकटमा परेको र न्यू मिडियाले अवसर पनि लिएर आउने गरेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत रहेका कोइरालाले पत्रकार महासंघको विधानमा उल्लेखित शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको काम, कर्तव्य र अधिकारबारे जानकारी दिए ।





