पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा क्यामेरा मर्मत तालिम शुरु भएको छ । पोखरा फोटोग्राफर संघको भवन पोखरा ४ टुँडाको पाटनमा शुरु भएको ३ सय ९० घण्टे तालिमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै उनले वर्तमान समयमा फोटोग्राफी सबै कार्यक्रमको अनिवार्य हिस्सा बनेको उल्लेख गर्दै क्यामेरा मर्मतसम्बन्धी तालिमले मर्मत खर्च घट्नुका साथै काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

पोखरा फोटोग्राफर संघ कास्कीका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, तालिम संयोजक तृष्णा बस्ताकोटी लगायतको सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका शाखा प्रमुख नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सो अवसरमा पोखरा फोटोग्राफर संघ कास्कीका पूर्व अध्यक्ष रवि दाहालले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
तालिमका प्रशिक्षक मदन सुब्बाले तालिम सञ्चालनका लागि सहयोग गरेकोमा महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।





