सुचना१
newa srijana

लेकसाइड फेरि रङ्गिँदै : आइतबारदेखि पोखरा सडक महोत्सव, सडकमै खाऔं नाचौं र रमाऔं

पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतमा पोखराको लेकसाइड फेरि उत्सवमय बन्ने भएको छ। आइतबारदेखि सुरु हुने २७ औं पोखरा सडक महोत्सवले फेवाताल किनारको साढे तीन किलोमिटर सडकलाई पाँच दिनसम्म झिलिमिली पार्नेछ। पुस १३ देखि १७ गतेसम्म चल्ने यो महोत्सवले जेन–जी आन्दोलन र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको ९० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने लोकप्रिय नाराका साथ आयोजना हुने यो महोत्सवमा साढे तीन किलोमिटर सडक क्षेत्रमा सवारी आवागमन पूर्णरूपमा रोकिनेछ।

यसपटकको महोत्सवको सबैभन्दा ठूलो आकर्षण संगीत हो। तीन दशकपछि नेपाली संगीत इतिहासका चर्चित ब्यान्ड ‘एक्स–नेपथ्य’का पुराना सारथिहरू रविन श्रेष्ठ र गौतम गुरुङ एउटै मञ्चमा देखिनेछन्। पुस १६ गते न्यू इयर इभको दिन कोमागाने पार्कमा आयोजना हुने ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा उनीहरू गुञ्जिनेछन्।

नब्बेको दशकमा नेपाली संगीत जगतमा आँधी मच्चाएका यी दुई कलाकारसँगै उज्जन शाक्य, डी–मर्चा, लेकाली र देउराली ब्यान्डले लाइभ प्रस्तुति दिनेछन् सो कार्यक्रमको संयोजन अल टेक नेपालले गरेको छ।

त्यसैदिन न्यू इयर इभ स्पेसलका रूपमा कार्टुन क्रुजकी भाइरल डान्सर आश्मा विश्वकर्मा र सरोज अधिकारीले ‘छिकिरी, छिकिरी’लगायतका गीतमा प्रस्तुति दिनेछन्। महोत्सव संयोजक शेरबहादुर गुरुङले यो कार्यक्रम युवा दर्शकका लागि विशेष आकर्षक हुने बताए।

पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम हुनेछ। सो दिन स्वप्न सुमन, केहर एन्ड द लुंगा र चक्र ब्यान्डको लाइभ प्रस्तुति रहनेछ। त्यस्तै प्रीति आले, देउराली ब्यान्डका पुराना गायक आनन्दराज बज्राचार्य र सन्तोष बस्यालले पनि प्रस्तुति दिनेछन्।

दिउँसो दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल र चोलेन्द्र पौडेलको प्रस्तुति रहने महोत्सव संयोजक गुरुङले जानकारी दिए।

पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ। दिउँसोदेखि साँझसम्म इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि विजेता र उपविजेताहरूको संगीतमय प्रस्तुति हुनेछ।

सडक महोत्सव

महोत्सवमा २२ जातजातिका लोपोन्मुख भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। मौलिक सांस्कृतिक कार्यक्रममार्फत नेपालको सांस्कृतिक विविधता प्रस्तुत गरिने महोत्सव संयोजक तथा रेबान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए।

यसपटक महोत्सवमा विशेष आकर्षणका रूपमा रोधी प्रदर्शन हुनेछ। यसका लागि एउटा समुदाय नै आउने रेबानका पूर्वअध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए। रोधीको सांस्कृतिक चलनलाई व्यावहारिक रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको उनले बताए।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि र वनस्पतिजन्य उपजहरूलाई प्राथमिकता दिएर प्रदर्शनी गरिने रेबानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार पनि उपलब्ध हुनेछन्।

महोत्सवमा डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत विविध कार्यक्रम समावेश हुने उपाध्यक्ष गौतमले जानकारी दिए। महोत्सवकै अवधिमा पर्यटनको विकास, अवसर र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सडकमा नै सञ्चालन गरिनेछ।

रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वभर पुर्‍याउनु महोत्सवको मुख्य लक्ष्य रहेको बताए। महोत्सव संस्कृतिजस्तो बनेको छ। यसले अर्थतन्त्र चलायमान बनाउनेछ भने पोखराको प्रचारप्रसार र ब्रान्डिङमा पनि सघाउनेछ उनले भने।

उनका अनुसार कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउन महोत्सव प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ। पर्यटन प्रवर्द्धन, स्थानीयस्तरमा उत्पादित सामग्रीको बजार विस्तार, लेकसाइडको ब्रान्डिङ र आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए।

महोत्सवको सुरक्षा व्यवस्थापन सुरक्षा निकायसँगको समन्वयमा गरिने रेबानका निवर्तमान अध्यक्ष नरेश भट्टराईले जानकारी दिए। आवश्यक संख्यामा स्वयंसेवक परिचालन गरिने उनले बताए। महोत्सवको सुरक्षाका लागि ड्रोनदेखि निजी सुरक्षा कम्पनीबाट सुरक्षाकर्मी समेत मगाइनेछ।

प्रशासनको सहयोग मिले महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको आतिसबाजी यस वर्ष पनि गरिने अध्यक्ष पौडेलले बताए। यसले महोत्सवको रौनकता थप्छ, आमसर्वसाधारण र पर्यटकको चासो पनि छ, त्यसैले प्रशासनको सहयोग भए यस वर्ष पनि आतिसबाजी हुन्छ उनले भने।

महोत्सवमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् प्रवर्द्धकका रूपमा रहेका छन्।

पुल सेन्टर
वडा नं २६