newa srijana

ईको भ्यानमा लुकाइछिपाई ल्याइएको करिब १३ लाख बराबरको सुर्ती बरामद

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका-८ मालपोत चोकबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ। चेकजाँचका क्रममा करिब १३ लाख रुपैयाँ बराबरको सुर्ती नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले प्रदेश ३-०१०२३ च. ८७५२ नम्बरको सुजुकी ईको भ्यानमा लुकाइछिपाई ओसारपसार भइरहेको सुर्ती फेला पारेको हो। अवैध रूपमा सुर्तीजन्य पदार्थको ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

World link net

बरामद सुर्तीमा ‘सुपर पावर चक्का’ लेखिएको आठ बोरा रहेका छन्। प्रत्येक बोरामा ५० प्याकेट गरी जम्मा ४०० पोका सुर्ती फेला परेको प्रहरी निरीक्षक सागर कार्कीले बताए। यसैगरी खुला अवस्थामा दुई पोका र ३६ थान सुर्ती समेत बरामद गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार बरामद सुर्तीको अन्दाजी मूल्य १२ लाख ९२ हजार १ सय १७ रुपैयाँ रहेको छ। बिना बिल र कर नतिरी ओसारपसार भएको यो सुर्ती हाल नियन्त्रणमा लिइएको छ।

बरामद सुर्तीजन्य पदार्थ थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सवारी साधन र सुर्ती बरामद गरे पनि चालकसहित सम्बन्धित व्यक्तिको पहिचान खुलाएको छैन। अवैध सुर्ती ओसारपसारमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाइने प्रहरीले बताएको छ।

सिटीजन फनिच्रर