पोखरा । फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहारा क्लब पोखरालाई मानिसहरुले विभिन्न तरिकाले सहयोग गर्न लालायित छन् । पछिल्लो समय एक जना ज्येष्ठ नागरिकले वृद्धभत्ता वापतको रकम नै क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीलाई प्रदान गरे ।
उनी हुन्, पोखरा ९, बसपार्क निवासी ८० वर्षीय एकप्रसाद थापा मगर । पोखराको बसपार्कमै आजभन्दा झण्डै ३० वर्षअघि स्थापना भएको सहारा क्लब पोखराको गतिविधि विगतदेखि नियालिरहेका थापाले क्लबको कार्यको उच्च प्रशंसा गर्दै वृद्धभत्ता दिएको बताए ।
दोबिल्लास्थित एकेडेमीमा हालै आयोजित कार्यक्रममा उनले वृद्धाभत्ताबाट १६ हजार ६ सय बराबरको खाद्यान्न सामग्री एकेडेमीलाई सहयोग गरेका हुन् । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा तथा फुटबल सिकाउने गरिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।

सहयोग हस्तान्तरण क्रममा एकप्रसादका परिवारका सदस्यहरु पनि उपस्थित थिए । उनकी पत्नी राधा थापा मगर, दिदी सासू पदमकुमारी थापा, छोराबुहारी केशवबहादुर/ विष्णु थापा, भाइबुहारी लीलबहादुर/रुमा थापामगर, छोरीज्वाइँ सुशीला/सुकबहादुर मगर, छोरीहरु मनकुमारी थापा, इन्द्राकुमारी थापा राई र नाति सिद्धान्त थापा मगरको उपस्थिति थियो ।
सबै जनालाई क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले खादा तथा एकेडेमी संयोजक विष्णु गुरुङले फूलगुच्छाद्वारा स्वागत गरेका थिए । सोही अवसरमा पोखरा १७, फेवा फान्ट निवासी विसन राना, रुपा रानाले छोरा नियोनको ११ आंै जन्मदिन अवसरमा बालकहरुलाई ३२ थान सिन प्याड, ३२ जोर मोजा प्रदान गरे ।
सहारा क्लब हङकङ महासचिव गुरुङले निकट भविष्यमा बालकहरुलाई फुटबल ड्रेस उपलब्ध गराउने बताए । कार्यक्रम सञ्चालन क्लब सचिव ज्ञानेन्द्र गुरुङले गरेका थिए ।
यसैबीच, क्लब हाल आहा रारा पोखरा गोल्ड कपको रजत संस्करणको तयारीमा जुटेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।





