newa srijana

शिव शक्ति क्याम्पसका विद्यार्थीलाई रोजगारको ग्यारेन्टी : अध्यक्ष विशाल

पोखरा । शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित उनले आइतबार पदस्थापन समारोहमा उक्त कुरा दोहोर्‍याएका हुन् ।

कामना बैंकका पूर्व महाप्रबन्धक एवं पूर्व प्रदेश प्रमुखसमेत रहेका उनको बैंक वित्तीय संस्था, शिक्षा, सामाजिक एवं राजनीतिक क्षेत्रमा राम्रो पहुँच छ । उनले विद्यार्थीमाझ भने, ‘मैले सधैँ भन्दै आउने गरेको छु, यहाँहरुले उत्कृष्ट नतिजा हासिल गर्नुभयो भने बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, शैक्षिक संस्था, कन्सल्ट्यान्सीमा इन्टर्नसिप र तत्पश्चात् जब मिल्नेछ ।’ उनका अनुसार क्याम्पसले ‘पढ्दै कमाउँदै रमाउँदै’ भन्ने अभियान अघि सारेको छ । उनले शिव शक्ति क्याम्पसमा पढिसकेपछि विद्यार्थीलाई स्कलरसिप, जब प्लेसमेन्ट, इन्टर्नसिपलगायतमा कलेजले व्यवस्थापनमा सहजीकरण गर्ने र अझ कमाउन बाहिर जानुनपर्ने वातावरण मिलाउने वाचा गरे ।

उनले आगामी कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर सुधार, संस्थागत सुशासन, पारदर्शी, आर्थिक अनुशासन र विद्यार्थी हितलाई प्रमुख प्राथमिकता राख्ने प्रतिबद्धता गरे । यस्तै, कलेजलाई क्यूएएमा लैजान आवश्यक प्रक्रियाका लागि अध्ययन सुरु गरिएको बताए । पोखरा–११, फूलबारीस्थित क्याम्पसको १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनले अघिल्लो महिना उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको थियो ।

World link net

सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल, कृष्णमान श्रेष्ठ र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सूर्यप्रसाद घिमिरे र लीलावती पनेरु मनोनीत हुँदा पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने र त्रिवि प्रतिनिधि विकास थापा छन् ।

नयाँ सञ्चालक समितिलाई प्रमुख निर्वाचन अधिकृत रोहितराज बास्तोलाले पद तथा गोपनीयताको शपथ गराए । सोही अवसरमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम गरिएको थियो । बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, नवनिर्वाचित अध्यक्ष टुबराज बास्तोला ‘विशाल’, पूर्व अध्यक्षहरु माधवप्रसाद बास्तोला ‘मधु’, दामोदर बास्तोला, क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, पोखरा विश्वविद्यालय सेवा आयोग अध्यक्ष प्राध्यापक तीर्थराज अर्याल, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेलगायतले फूलगुच्छा, कापी, कलमसहित स्वागत गरेका थिए।

प्रमुख अतिथि वडाध्यक्ष कर्माचार्यले विद्यार्थीलाई अनुशासनमा रहन र आजैका दिनदेखि पढाइलेखाइमा ध्यान दिन सुझाव दिए ।
क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई दिनुका साथै नवआगन्तुक विद्यार्थीको स्वागत गरे । कार्यक्रम संचालन निर्वाचन समिति सदस्य अधिवक्ता कमल थापा र निवर्तमान सहायक क्याम्पस प्रमुख रमेश थापाले संयुक्तरुपमा गरे । सो अवसरमा विद्यार्थीहरु सलिना नौवाग, निरुता नौवाग र निरु परियारले आकर्षक नृत्य देखाएका थिए ।

सिटीजन फनिच्रर