newa srijana

स्याङ्जामा २३ हजार मेट्रिक टन सुन्तला उत्पादन, एक अर्ब ३० करोड मूल्य

पोखरा । स्याङ्जामा एक अर्ब ३० करोड मूल्यको सुन्तला उत्पादन भएको छ । दुई हजार चार सय हेक्टर क्षेत्रफलमा एक अर्ब ३० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । प्रतिकिलो ५७ रुपैयाँका दरमा सुन्तला बिक्री गर्दा कृषकले उक्त मूल्य पाउने भएका छन् ।

जिल्लामा अघिल्लो वर्र्ष एक अर्ब १२ करोडको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा चालु वर्षमा १८ करोड बढि मूल्यको सुन्तला उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा २० हजार ८४ मेट्रिक टन उत्पादन भएको सुन्तला चालु वर्ष २३ हजार २३८ मेट्रिक टन उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाले जनाएको छ ।

गत वर्षको तुलनामा जिल्लामा सुन्तला लगाएको भूभाग, उत्पादन र उपादकत्वमा वृद्धि हुँदै गएको छ । दुई हजार २५० हेक्टरमा उत्पादन हुँदै आएको सुन्तला पछिल्लो वर्ष दुई हजार चार सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । प्रतिहेक्टर १४ दशमलब ६६ मेट्रिक टन उत्पादकत्व रहेको सुन्तला यस वर्ष बढेर प्रतिहेक्टर १६ दशमलब ३७ मेट्रिक टन पुगेको परियोजनाले जनाएको छ ।

सुन्तलाका लागि अनूकुल वातावरण, लगाएको भूभाग, कृषक र उत्पादन दिने बिरुवाको संख्यामा वृद्धि भएसँगै स्याङ्जामा सुन्तला उत्पादन बढेको परियोजना प्रमुख अजय अधिकारीले बताए । सुन्तला फूल्ने र फल्ने मौसममा असिना पानी नपरेको र रोग किराको संक्रमण नहुँदा उत्पादकत्वमा वृद्धि भएको अधिकारीले जनाए । उत्पादनमा वृद्धि भएसँगै जिल्लाका सुन्तला उत्पादक कृषकहरु उत्साहित भएका छन् ।

World link net

उत्पादित सुन्तलाको झण्डै १० प्रतिशत अर्थात दुई हजार ३५६ मेट्रिक टन आन्तरिक रुपमा खपत हुन्छ भने बाँकी रहेको २० हजार ८८२ मेट्रिक टन देशभित्रै निर्यात हुने परियोजनाले जनाएको छ । स्याङ्जामा उत्पादित सुन्तला छिमेकी जिल्ला तथा पोखरा, काठमाडौं, चितवन र बुटवल निर्यात हुँदै आएको छ । पछिल्लो सयम राम्रो र स्वादिला सुन्तला उत्पादन हुन थालेपछि ठूला सहरका होलसेल पसलमार्फत बिक्री हुँदै आएको छ ।

आउँदा वर्षहरुमा मौसमले साथ दिएमा स्याङ्जामा सुन्तला उत्पादन बढ्दै जाने परियोजनाका सूचना अधिकारी तथा कृषि अधिकृत प्रतिभा बुढाथोकीले बताइन् । जिल्लामा थप ९८० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको छ । आउने वर्षहरुमा उत्पादन दिने बिरुवा थपिने छन् भने प्रत्येक वर्ष सुन्तला खेती विस्तार र उत्पादनमा वृद्धिहुँदै जाने अधिकृत बुढाथोकीले जनाइन् ।

जिल्लामा व्यावसायिक रुपमा सुन्तला खेती गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । बजारमा राम्रो मूल्य पाइने र अन्य खेतीको तुलनामा धेरै मेहनत गर्न नपर्ने भएपछि कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको परियोजनाले जनाएको छ । स्थानीय तहसँगै प्रदेश र संघ सरकारले सुन्तला कृषकलाई प्राथमिकतामा राखेर अनुदानका कार्यक्रम संचालन र सहयोग गरेपछि सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको हो । पछिल्लो समय सुन्तला व्यवसायलाई मुख्य आम्दानीको श्रोत बनाउने कृषकको संख्या थपिदै गएको छ ।

स्याङ्जाका ११ वटै पालिकाका प्रायः सबै क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गरिदै आएको छ । जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुने गरेको परियोजनाले जनाएको छ । पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकालाई पकेट क्षेत्र कायम गरिएको छ भने फेदखिोला, आँधीखोला र बिरुवा गाउँपालिकालाई नयाँ पकेट क्षेत्र बनाएर सुन्तला खेती विस्तार गरिएको रहेको सुन्तला सुपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्यालले बताए ।

सुन्तला खेतीबाट प्रतिपरिवार वर्षेनी एकदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । जिल्लामा सहकारी, समूह र व्यक्तिगत रुपमा सुन्तला खेती गरिन्छ । बिरुवा रोपेको पाँच वर्षभित्रमा सुन्तलाले फल दिने गर्छ । कलमी गरेर तयार गरिएको बिरुवाले रोपेको तीन वर्षमै फल दिने गरेको स्थानीय कृषकले बताए । वर्षेनी ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्नसक्ने सुन्तला उत्पादक सयौं कृषक रहेका छन् ।

सिटीजन फनिच्रर