पोखरा । बालिकालाई ललाईफकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउन लागेको आरोपमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिक सडक खण्डमा बा.२ ज २३२७ नम्बरको ट्याक्सी शङ्कास्पद रूपमा रोकी जाँच गरिएको थियो । जाँचका क्रममा ट्याक्सीको पछाडिको सिटमा दुई जना बालिकालाई राखी लैजान लागेको अवस्थामा भेटिएपछि उनीहरूको तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ट्याक्सीभित्र सवार राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिसँग महिलाहरूको तस्बिर आदान–प्रदान गर्ने तथा रकमको विषयमा सौदाबाजी गर्दै महिला तथा बालबालिकालाई ललाईफकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१ बस्दै आएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको लोलाङ बस्ने ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन् ।
घटनासँग सम्बन्धित रूपमा प्रहरीले बा.२ ज २३२७ नम्बरको ट्याक्सी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान र सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार तथा मानव बेचबिखन तथा ओसारपसार कसूरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ । साथै प्रतिवादी लक्ष्मण तामाङको नाममा यसअघि जिल्ला प्रहरी कार्यालय दोलखामा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको तथ्यसमेत खुलेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र बालिकाहरूको संरक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





