पोखरा । काठमाडौं प्रहरीले नक्कली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकस्थित स्थानबाट एक हजारको नक्कली नोट ३९ वटा सहित छ जना व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको थियो । सो क्रममा अनुसन्धानमा संलग्न जिल्ला बारा, कलैया उपमहानगरपालिका–२ कबलपुर बस्ने २८ वर्षीय गौरी शंकर यादव र फेटा गाउँपालिका–३, बारा घर भइ भारत मोतिहारी लाला टोलको पतौना स्थित बस्ने २८ वर्षीय रवि कुमार श्रीवास्तव पक्राउ परेका छन् ।

प्रहरीले जनाएको छ कि पक्राउ परेका यादव र श्रीवास्तवले नक्कली नोट नेपालमै छाप्ने उद्देश्यका लागि आवश्यक सामग्री भारतबाट ल्याउँदै गरेका थिए । उनीहरू BR05AF2511 नम्बरको भारतीय प्लेट भएको बुलेट मोटरसाइकलको पछाडिको सिटमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर र प्रिन्टिङ उपकरणहरू राखेर नेपालतर्फ ल्याउने क्रममा नियन्त्रणमा लिइएको हो ।
बरामद सामानमा भारतीय रुपैयाँ ५०० का ३१७ वटा नोट, L.G. कम्पनीको मोनिटर, Zebion लेखिएको कीबोर्ड, हेडफोन, माउस, केवल तार, VIVO मोबाइल, H.P. कलर प्रिन्टर, Fingers CPU, M-Audio बक्स, HP 119A Cyam laser toner ८ थान, U.S. 9mm M9-P. BERETTA लेखिएको नक्कली पेस्तोल र लालीगुराँस वाटरमार्क छापिएको कागज १८० थान लगायत अन्य सामानहरू छन् ।
काठमाडौं प्रहरीले पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।





