पोखरा । पोखराको मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयमा तीन दिने विन्टर चेस क्याम्प सञ्चालन हुने भएको छ। मदरल्याण्ड चेस क्लबले मदरल्याण्ड सेकेन्डरी स्कुलको समन्वयमा आयोजना गर्न लागेको उक्त क्याम्प आगामी माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ। तालिम तीनै दिन बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म चल्ने आयोजकले जनाएको छ।
क्याम्प र विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। चेस खेलप्रति रुचि राख्ने विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस क्याम्पले खेलको आधारभूत ज्ञानसँगै रणनीति, विश्लेषण र निर्णय क्षमताको विकासमा सहयोग पुग्ने विश्वास आयोजकको छ। सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमा पनि जोड दिइने जनाइएको छ।
तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्। अन्तर्राष्ट्रिय अन्डर–२० खेलाडी परिबेश थापा, गण्डकी प्रदेश प्रथम उपविजेता आलिस्मा पनेरु, एशिया ओपनमा पाँचौँ स्थान हासिल गरेका राष्ट्रिय लाइसेन्स प्राप्त आरबिटर रामबहादुर क्षेत्री तथा नेपालका नम्बर एक चेस स्ट्रिमर ईश्वर घिमिरेले प्रशिक्षण दिने कार्यक्रम छ। साथै, चेससम्बन्धी विभिन्न विधा र सीपमा दक्ष अन्य अनुभवी प्रशिक्षकहरूको समेत सहभागिता रहनेछ।


आयोजकका अनुसार क्याम्पलाई व्यवहारिक, प्रभावकारी र परिणाममुखी बनाउने तयारी गरिएको छ। चेस खेलले विद्यार्थीहरूको बौद्धिक क्षमता, विश्लेषणात्मक सोच र निर्णय क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले अधिकतम सहभागिताका लागि प्रशिक्षक आलिस्मा पनेरुले विद्यार्थीहरूलाई आग्रह गरेकी छन्।
कार्यक्रमको व्यवस्थापन पक्षलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी तोकिएको छ। कार्यक्रमको अध्यक्षमा परिबेश थापा रहेका छन् भने कार्यक्रम निर्देशकको जिम्मेवारी बिनोद तिमिल्सिनाले सम्हालेका छन्। त्यसैगरी कार्यक्रम संयोजकमा प्रबेग अधिकारी, प्राविधिक प्रमुखमा स्पन्दन गोरखाली, कार्यक्रम व्यवस्थापन प्रमुखमा सजल गुरुङ तथा प्रशिक्षक तथा अधिकारी संयोजकमा उमन सिंह खत्री रहेका छन्।





