पोखरा । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे ।
उद्घाटन गर्दै मन्त्री थापाले एकआपसमा सौहर्दता वृद्धि गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि आफुले मन्त्रालयकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगिताअन्तर्गत पहिलो दिन आयोजक मनोहर युवा क्लब ‘ए’ र पोखरा युनाइटेढ अर्को चरणमा प्रवेश गरेका छन् । आयोजक टोलीले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत ग¥यो ।
मनोहर युवा क्लब ‘ए’ ले पहिलो सेट २५–१० र दोस्रो सेट २५–२१ ले सहज रुपमा आफ्नो पक्षमा पार्दा तेस्रो सेट निकै प्रतिष्पर्धा भयो । तेस्रो सेटमा अन्ततः २६–२४ ले जित निकाल्दै आयोजक टोलीले पहिलो जित दर्ता गर्न सफल भयो ।
आजको दोस्रो खेलमा पोखरा युनाइटेढले वाकओभर पाउँदै अर्को चरणमा प्रवेश ग¥यो ।

प्रतिष्पर्धी कप्स एण्ड विडर्स खेल समयमा मैदानमा उपस्थित नभएपछि रेफ्रीले पोखरा युनाइटेढलाई विजेता भएको निर्णय सुनाएका हुन् ।
१४ टोली सहभागी प्रतियोगितामा भोलि ४ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति पोखरा–१४ र मादी–७ बिच हुनेछ ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ।
सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था छ । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।





